वीरगञ्जमा भारतबाट भित्रिएको कोरोना समुदायमा फैलिएको आशंका


वीरगञ्जमा भारतबाट भित्रिएको कोरोना समुदायमा फैलिएको आशंका

File Photo

वीरगञ्ज १ वैशाख : भारतमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा खुला सीमा हुँदै नेपाल प्रवेश गर्नेको संख्या पनि बढेको छ । भारतसँग सीमा जोडिएको वीरगञ्जमा भारतबाट फर्किएका दुई जना कोरोना संक्रमितको मंगलबार उपचारका क्रममा मृत्यु भएको छ ।

नारायणी अस्पतालको कोभिड आइसियूमा उपचार गराइरहेका बाराका ३७ वर्षीय पुरुष र वीरगञ्जका ६२ वर्षीय पुरुषको मंगलबार उपचारका क्रममा मृत्यु भएको हो ।

नारायणी अस्पतालका कोभिड–१९ फोकल पर्सन डाक्टर सरोज रोशन दासकाअनुसार मृत्यु हुनेमध्ये बाराका पुरुष हैदरावाद र वीरगञ्जका पुरुष दिल्लीबाट आएका थिए । उनीहरू होली मनाउन घर आएका थिए ।

पर्सा जिल्लामा अहिले १५० जना कोरोना संक्रमित छन् । अस्पतालमा रहेका ७ जनाबाहेक अन्यको अवस्थाबारे स्थानीय प्रशासन बेखबर छ । उनीहरूमध्ये अधिकांश निर्वाध रूपमा घुमिरहेको भन्दै स्थानीयले चिन्ता गरेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

नारायणी अस्पतालमा अहिले ६ जना आइसियू र १ जना आइसोलेसनमा उपचाररत् छन् । आइसियूमा रहेकामध्ये २ जनाको अवस्था गम्भीर रहेका दासले बताए । उनीहरू सबैलाई स्थानीय स्तरमै कोरोना संक्रमण भएको भेटिएको डाक्टर दासले बताए ।

‘खुला सीमाबाट नेपाल प्रवेश गर्नेको क्रम रोकिएको छैन, सरकारले सीमा नाका बन्द नगर्दासम्म आउने क्रम चलिरहन्छजस्तो लाग्छ, पछिल्लो समयमा देखिएको संक्रमणको ट्रेन्डले भारतबाट भित्रिएको कोरोनाभाइरस समुदायमा फैलिसकेको देखाउँछ’ दासले भने,‘भारतमा देखिएको जोखिम र नेपाल आउनेको संख्या हेर्दा पुनः भयावह अवस्था आउन सक्ने आँकलन गर्न सकिन्छ ।’

नारायणी अस्पतालले कोरोना संक्रमितको उपचार गर्नका लागि १७ शैयाको एसचडियू र ५ वटा भेन्टिलेटरसहितको ६ वटा आइसियू शैयाको व्यवस्था गरेको छ ।

‘अहिलेकै जस्तो अवस्था रहे यी शैयाले अबका २–३ दिन धान्ला, त्यसपछिको अवस्था जटिल हुने आँकलन गरेका छौं,’ डाक्टर दासले भने, ‘हामी आकस्मिकबाहेकका अन्य सेवा रोकेर भए पनि कोरोना संक्रमितको उपचार गर्नुपर्छ भनेर लागेका छौं ।’

यस अस्पतालमा अहिले दैनिक ४०० भन्दा बढी बिरामी ओपीडीमा आउँछन् । कोरोना संक्रमितको अवस्थालाई हेरेर केही दिन ओपिडी सेवा बन्द गरी फिभर क्लिनिक सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए ।

पछिल्लो पटक संक्रमण देखिएकामा ज्वरोका साथै झाडापखला, निमोनियाजस्ता लक्षण देखिएका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाका निजी अस्पताललाई कम्तीमा २० प्रतिशत शैया कोरोना संक्रमितको उपचारका लागि तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सीमा नाकामा चेकजाँचमा कडाइ गर्ने, हेल्थ डेक्स राख्ने, स्थानीय निकायलाई स्थानीय स्तरमा आइसोलेसन सेन्टर/क्वारेन्टिनको व्यवस्था गर्न निर्देशन दिने, भीडभाड नियन्त्रण गर्नेलगायतका निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए ।

‘मंगलबार हामी आफैं पनि नाकामा बसेर अवस्था अवलोकन गरियो । भारतबाट आउन चाहनेलाई आउन नदिने अवस्था छैन तर चेकजाँच गरी व्यवस्थापन गर्न सकिन्छ भन्ने निष्कर्षमा हामी पुगेका छौं,’ उनले भने, ‘अब ज्वरो परीक्षण गरी अभिलेख राखेरमात्रै नेपाल प्रवेश गर्न दिन्छौं ।’

उनले संक्रमित, संक्रमणको आशंका भएकालाई एम्बुलेन्सको व्यवस्था गरी सम्बन्धित स्थानीय तहको जिम्मा लगाइने बताए ।

‘सीमा नाकामा कडाइ गर्ने र नाका बाहिरबाट प्रवेश गर्ने क्रमलाई नियन्त्रण गर्ने हो भने वीरगञ्जलाई महामारीबाट जोगाउन सकिन्छ,’ उनले भने, ‘यस विषयमा स्थानीय तह र सरोकारवालासँग छलफल भएको छ । हामी नियन्त्रणमा लिनेगरी अघि बढ्दैछौं ।’

उनले नेशनल मेडिकल कलेजले व्यवस्थापन गर्दै आएको कोभिड–१९ अस्थायी बाबा अस्पताल पुनः सञ्चालनमा ल्याउने गरी तयारी गर्न भनिएको बताए ।

वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी भने आमाको स्वास्थ्योउचारका लागि केही दिनदेखि काठमाडौं छन् । ‘म आमाको उपचारका लागि काठमाडौंमा व्यस्त भएँ, उताकोबारे सिडिओसाबलाई सोध्नुहोला,’ उनले भने ।

भारत तथा अन्य देशबाट फर्किएकाहरू १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने निर्णय जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले गरे पनि वीरगञ्जमा यो कार्यान्वयनमा आएको छैन । इनर्वा नाकामा राखिएको हेल्थ डेक्सले सामान्य ज्वरो परीक्षण गरी आउन दिएको भन्दै स्थानीयले विरोध गरेका छन् । -सेतोपाटीबाट