बाँकेमा ‘६८ प्रतिशत’ युवा लागुऔषधको कुलतमा


बाँकेमा ‘६८ प्रतिशत’ युवा लागुऔषधको कुलतमा

File Photo

नेपालगन्ज २ वैशाख : बाँकेमा ठूलो मात्रामा युवा लागुऔषधको कुलतमा फसेको तथ्यांक बाहिरिएकोछ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार लागुऔषधसहित पक्राउ पर्नेहरुको तथ्यांकलाई हेर्दा जिल्लाका १५ देखि ३० वर्षसम्मका किशोर तथा युवाको ठूलो संख्या लागुऔषधको कुलतमा फसेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेको तथ्यांकका अनुसार चालु आर्थिक वर्षमा लागुऔषधसहित पक्राउ पर्नेमा १५ देखि ३० वर्ष उमेरका ६८ प्रतिशत रहेका छन् ।

बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले चालु आर्थिक वर्षमा लागुऔषधका ८३ वटा मुद्दा रहेकोमा एक सय २२ जना पक्राउ परेको जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा चार महिला छन् भने बाँकी पुरुष । जसमा १३ जना भारतीय समेत रहेका छन् ।

प्रहरीको तथ्यांकले अध्ययनरत र केही गर्ने उमेर समूह नै लागुऔषधमा फँसेको देखाएको छ । बाँकेमा आर्थिक वर्ष २०७४/७५ मा एक सय ४७ वटा, ०७५/७६ मा २ सय ४९ वटा र ०७६/७७ मा १ सय ५६ वटा लागुऔषध सम्बन्धी मुद्दा दर्ता भएका थिए । प्रहरी प्रमुख एसपी रानाले सम्पूर्ण अपराधको आधा बढी लागुऔषध प्रयोगकर्ता रहेको बताए ।

Kanti Aarogya Hospital Nepalgunj

लागुऔषधको असर चोरी, लुटपाट, कर्तब्य ज्यान, आत्महत्या, सवारी दुर्घटनामा पनि देखिने गरेको प्रहरीको भनाईछ । सीमावर्ती जिल्ला भएकाले बाँकेबाट लागुऔषध अन्यत्र जिल्लामा समेत कारोबार भएको पाइएकोछ ।

लागुऔषध नियन्त्रण गर्न लागुऔषध नियन्त्रण ब्यूरो नै खटाइएको छ । यद्यपी बाँकेमा चालु आर्थिक वर्षमा तीन सय पाँच ग्राम ९ सय ४५ मिलिग्राम ब्राउनसुगर, ७ किलो ३० ग्राम चरेश, ३४ किलो ५ सय ७४ ग्राम अफिम, ५३ किलो गाजा, २२ लिटर कोरेक्स र एक हजार एक सय ५ ट्याब्लेट नाइट्रोजेपाम बरामद भएको छ ।

प्रहरीका अनुसार नेपालमा अहिले एक लाख ३० हजार ४ सय २४ जना हार्ड ड्रग्स युजर रहेका छन् । नेपालका कारागारमा २४ हजारभन्दा बढी बन्दी रहेकोमा २१ प्रतिशत लागुऔषधका रहेका छन् ।

बाँकेलाई लागुऔषधको ट्रान्जिट प्वाइन्ट मानिन्छ । ६५ किलोमिटर खुल्ला सीमाना रहेको बाँकेमा भारतीय नै यहाँ लागुऔषध पु¥याउन आउँछन् । नेपालगन्ज हुँदै छिमेकी जिल्लाहरु दाङ, सुर्खेत, दैलेख तथा पोखरा र काठमाण्डौंसम्म लागुऔषधको कारोबार हुन्छ ।

कर्णाली प्रदेशको जाजरकोट, रोल्पा, रुकुमका माथिल्लो भेगमा उत्पादन हुने अफिम, चरेश नेपालगन्ज हुँदै भारत पुग्ने गरेको प्रहरीको भनाइ छ । उता (भारत)बाट ब्राउनसुगर, कोरेक्स, नाइट्रोजेपाम लगायतका लागुऔषध विभिन्न नाका भएर नेपाल भित्रिने गर्छ ।