संकटमा फेरि नेपालगन्ज, भयावह बन्दै कोरोना

भेरी अस्पतालमा कोरोनाका विरामी राख्ने ठाँउ छैन


संकटमा फेरि नेपालगन्ज, भयावह बन्दै कोरोना

नेपालगन्ज २ वैशाख : मास्क नलगाई हिँड्ने, एकापसमा भौतिक दूरी कायम नगर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदा यतिबेला बाँकेको नेपालगन्ज कोरोना संक्रमणको संकटमा परेकोछ ।

नेपालगन्ज बजार तथा नेपाल–भारत सीमा नाकामा सर्वसाधारणको आवागमन गर्दा अपनाउनु पर्ने स्वास्थ्यसम्बन्धी सचेतना समेत नअपनाउँदा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको हो । पछिल्ला दिनमा बाँकेमा कोरोना संक्रमितको दर ह्वात्तै बढेर आएकोछ ।

एकाएक कोरोना संक्रमितको संख्या बृद्धि भएपछि नेपालगन्जस्थित भेरी अस्पतालको आइसोलेसन वार्ड कोरोना संक्रमितले खचाखच भरिएको छ । संक्रमित संख्या बढ्दै गएपछि थप कोरोना संक्रमितलाई आइसोलेशसन अस्पतालमै राख्न नसक्ने अवस्थाको सिर्जना भएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

संक्रमितको संख्या अस्वभाविक ढंगबाट बढेपछि भेरी अस्पतालले बुधवार सर्वपक्षीय बैठक राखेर सहयोगको याचना समेत गरेको छ । अस्पतालले व्याप्त समस्या जानकारी दिंदै सहयोग र समन्वयका लागि अपील गरेको हो ।

सोक्रममा चिकित्सकहरुले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना नगरे नेपालगन्जको स्थिति भयावह हुने चेतावनी समेत दिएका छन् । यही गतिमा विरामीको संख्या बढे भेरीको आइसोलेसनले थेग्न नसक्ने र समुदायमा कोरोना आक्रमकरुपमा फैलिने डर र चिन्ता समेत ब्यक्त गरिएकोछ ।

सर्वपक्षिय बैठकले बढ्दो कोरोना जोखिमलाई मध्यनजर गर्दै सीमानाका ठप्प पार्नुका साथै नेपालगन्जमा हुने भीडभाड बन्द गराउनुपर्ने समेत सुझाव दिएका छन् ।

उनीहरुले नेपालगन्जमा कोरोना भाइरस संक्रमण समुदायमै फैलिसकेको भन्दै समयमै सचेत र सजग नभए नेपालगन्जको अवस्था भयावह हुने चेतावनी समेत दिएका थिए ।

बाँकेमा बुधबार एकै दिन १ सय २३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६२ महिला र ६१ पुरुषमा कोरोना पुष्टि भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए । पछिल्लो ७ दिनमै बाँकेमा ३६६ जनामा कोरोना पुष्टि भइसकेकोछ ।

भेरी अस्पतालमा कोरोना संक्रमितका लागि १४२ बेड ब्यवस्थापना गरिएपनि जनशक्ति अभावका कारण ६५ वटा बेडमात्र सञ्चालनमा ल्याउन सकिएको अस्पतालले जनाएको छ । मेडिकल अधिकृत र नर्सिङ स्टाफको कमिले यस्तो समस्या भएको अस्पतालले जनाएकोछ ।

कोरोना संक्रमित दर र मृत्यु दर दिनानुदिन बाँकेमा बढ्दै गएकोछ । केहीसमय मृत्युदर शून्यमा झरेको भेरीको आइसोलेसनमा पछिल्लो सातादेखि मृत्यदर समेत ह्वात्तै बढ्न थालेको छ । सोमवारमात्रै बर्दिया गेरुवा–३ की ७५ वर्षीया महिलाको मृत्यु भएको छ । मंगलबार राती ९ः५० बजे कैलालीका एक पुरुषको मृत्यु भयो । यस्तै बुधबार राती बाँकेको खजुरा गाउँपालिका वडा नम्बर– २ का ४२ वर्षिय एक पुरुषको मृत्यु भयो ।

नेपालमा कोरोनाको दोस्रो लहर सुरु भैसक्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नेपालमा कोरोना संक्रमणको दोस्रो लहर सुरू भइसकेको बताएका छन् ।

डाक्टर गौतमका अनुसार नेपालमा हाल नयाँ भेरियन्टको कोरोना संक्रमण पनि देखिन थालेको छ । खुला सीमानाका कारण मानिसहरू सहजरूपमा आवतजावत गर्ने भएकाले भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि संक्रमण बढेको उनले बताए ।

यस्तै आमसभा, जुलुस, सेमिनार, गोष्ठी, जात्रालगायत ठूलठूला भेला र भीडभाडका गतिविधि बढेको र यी कार्यक्रमहरूमा जनस्वास्थ्यका मापदण्ड पालना नै नभएका कारण पनि नेपालमा कोरोना संक्रमणको दोस्रो लहर सुरू भएको डाक्टर गौतमको भनाइ छ ।