डुडुवामा सम्बन्धविच्छेदका मुद्दा बढी


डुडुवामा सम्बन्धविच्छेदका मुद्दा बढी

नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिकामा रहेको न्याययिक समितिमा सम्बन्ध विच्छेदका घटना बढी दर्ता भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म आठ महिनाको अवधीमा सातवटा सम्वन्ध विच्छेदका मुदा दर्ता भएका हुन ।

ती मुद्दा बारे शुरुमा सम्वन्धित पक्षलाई बोलाएर मेलमिलापको प्रयास गरिएको नमिलेपछि अदालत पठाउने गरेको समितिका संयोजक तथा गाउँपालिका उपाध्यक्ष शाहिदा बानोले बताइन् । उनका अनुसार ७ वटा मुद्दामध्ये ६ वटा मुद्दा अदालतमा पठाइसकिएको छ । एउटा अझै मेलमिलापको क्रममा रहेको छ । यो संगै अन्य स–साना विवाद पनि बढी आउने गरेका छन ।

गत वर्ष २८ वटा दर्ता भएको विवादमध्ये २५ वटा विवादलाई समाधान गरि फच्यौर्ट गरिएको छ । यो वर्षको ८ महिनामा १५ वटा विवाद दर्ता भएको समितिले जनाएको छ । घर परिवारमा सामान्य विवाद भएर रिस झोकमा आएर समितिमा निवेदन दिने र पछि आफै नआउने गरेको घटना बढी हुने गरेको अध्यक्ष बानोले बताइन् ।

समितिमा घरायासी झगडा, श्रीमान श्रीमतीको झगडा, सासु ससुराको झगडा, खेतबारीको विवाद जस्ता विवाद बढी आउने गरेको छ । गाउँपालिकामा भवनको अभावमा इजलास कक्ष अभाव रहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनले भवनको व्यवस्थापनको पहल भईरहेकाले हुनेवित्तिकै इजलास कक्षको स्थापना गर्ने जानकारी दिए ।

उपाध्यक्ष बानोको संयोजकत्वमा रहेको समितिमा वडाध्यक्ष गजेन्द्र कैराती र पालिका सदस्य रिता परियार सदस्य रहेका छन् । एक जना प्रशासन सहयोगीले काम गर्दै आएका छन ।