जिल्लाका साविक सबै आइसोलेसन सेन्टर र होल्डिङसेन्टर सञ्चालनको तयारी
नेपालगन्ज २ वैशाखः जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार बाँकेमा सक्रिय संक्रमितको संख्या बिहीबारसम्म २ सय ८२ पुगेको छ । भेरी अस्पतालको कोभिड वार्डमा अहिले ७४ जना भर्ना भएका छन् । ती मध्ये ४९ जनाको अवस्था गम्भीर रहेको र ७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको फोकल पर्सन ओलीले बताए ।
बाँकेमा अहिलेसम्म कुल ५ हजार ४३ जनामा कोरोना पोजेटिभ, ४ हजार ७ सय २ जना डिस्चार्ज र ५९ जनाको मृत्यु भइसकेको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रले जनाएको छ । भने ९२ जना बाहिरी जिल्लाका संक्रमितको बाँकेमा उपचारका क्रममा मृत्यु भइसकेकोछ ।
यसबीच, कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सबै स्थानीय तहमा कम्तिमा ५० बेडको आइसोलेसन केन्द्र स्थापना र सञ्चालन गर्ने, नेपालगन्ज उपमहानगरपालिका भित्र साविकमा सञ्चालनमा आएका १२० वेडको ह्वाइट हाउस आइसोलेसन पुनः सञ्चालन गर्ने, कोरोना विरामी ओसारपसार गर्न प्रत्ये स्थानीय तहमा एउटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने, भेरी अस्पतालको १४२ बेडको आइसोलेसनमा जनशक्ति थपेर सञ्चालनका लागि तयारीमा राख्ने तथा यसअघिका जिल्लामा रहेका सबै आइसोलेसन सेन्टर, होल्डिङ सेन्टर तयारी अवस्थामा राख्ने जिल्ला संकट ब्यवस्थापन केन्द्र बाँकेले निर्णय गरेकोछ ।
यस्तै कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै बाँकेका सम्पूर्ण शैक्षिक संस्था आईतबारदेखि एक हप्ताका लागि बन्द गरिएकोछ ।
समुदायस्तरमै कोरोना भाइरस संक्रमण फैलिएपछि नेपालगन्ज उपमहानगरपालिकाको विपद् व्यवस्थापन समितिको बिहीबार अपराहन्न बसेको आपतकालिन बैठकले विद्यालय बन्द गर्न जिल्ला संकट व्यवस्थापन समितिलाई सिफारिस गरेको थियो ।