अटेरी नेपाली बहाना बनाउँदै किनमेल गर्न रुपैडिहा पुग्छन्

भारतबाट आएका थप १५ जनामा कोरोना पुष्टि, सीमा प्रहरीद्वारा दुई गाडी सामान नियन्त्रणमा


अटेरी नेपाली बहाना बनाउँदै किनमेल गर्न रुपैडिहा पुग्छन्

नेपालगन्ज ३ वैशाख : बाँकेमा तिव्ररुपमा फैलिएको कोरोना भाइरस संक्रमण न्यूनिकरणका लागि जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेले भारत आउजाउमा रोक लगाएकोछ ।

बिहीबार बसेको डिसिसिएमसीको बैठकले कोरोना भाइरस संक्रमण न्यूनिकरणका लागि अत्यावश्यक कामबाहेक अन्य कामका लागि नेपाल–भारत सीमामा आउजाउ रोक लगाएकोछ । तर, बाँकेबासीले विभिन्न बहाना बनाउँदै भारतीय बजार रुपैडिहा जाने गरेको रहस्य बाहिरीएकोछ ।

यसरी भारत जानेले कोरोना भाइरस संक्रमणको बेवास्ता गर्दै जोखिम निम्त्याइरहेकाछन् ।

औषधी तथा अत्यावश्यक कामको बहाना बनाउदैं रुपैडिहा जाने र उताबाट घरेलु सामान किनेर आउने गरेको सीमा प्रहरी चौकी जमुनाहका प्रमुख सई विष्णु गिरीले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

‘हामीले हिजो(बिहीबार) देखि नै सीमामा कडाई गरेका छौं । यो त्यो बहाना बनाउँदै रुपैडिहा जाने र उताबाट घरेलु प्रयोजनसहितका सामाग्री लिएर आउने गरेको पाइएपछि हामीले उहाँहरुको सामान नियन्त्रणमा लिएका छौं ।’ सई गिरीले भने–‘सुरुमा हामीलाई वास्तविक काम नै परेको होला भन्ने लाग्यो । व्यवहारिकतालाई मध्यनजर गर्दै जान दियौं । तर, आउँदा सामान लिएर आएपछि सामान नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बुझाएका छौं ।’

उनका अनुसार शुक्रबारे दुई गाडी सामान नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।

यसैबीच, जमुनाहा नाका हुँदै नेपाल प्रवेश गरेका विभिन्न जिल्लाका १५ जना नेपालीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतका विभिन्न ठाँउबाट नेपाल फर्केका उनीहरुमा कोरोना पुष्टि भएको हो ।

शुक्रबार मध्यान्हसम्ममा एक सय ९४ जनामा एन्टिजिन परीक्षण गर्दा विभिन्न जिल्लाका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैगरी, नेपाल–भारत जमुनाह नाकाबाट नेपाल भित्रने नेपालीको भीड अत्याधिक बढेको छ । हरेक दिन दुई हजार बढी व्यक्ति नेपाल आउन थालेका छन् ।

जमुनाह प्रहरी प्रमुख सई गिरीले सेतोखरीसंग कुरा गर्दै भने –‘भारतबाट नेपाल आउनेको संख्या ह्वात्तै बढेकोछ । दिनहुँ २ हजार बढि ब्यक्ति नेपाल प्रवेश गरिरहेका छन् भने मुस्किलले २–३ सयका भारत गइरहेकाछन् ।’

भारतमा कोरोना संक्रमितको संख्या बढ्न थालेकाले पुनः लकडाउन हुन थालेपछि कामको खोजीमा भारत पुगेका नेपाली स्वदेश फर्कन थालेका हुन् । तर, नाकाबाट नेपालीहरु निस्फिक्री आइरहेका छन् । उनीहरुको बारे सोधखोज, स्वास्थ्य जाँच भने सबैको भएकोछैन । यसरी भारतबाट आउनेहरुले स्वास्थ्यका मापदण्ड पालना गरेको पनि देखिदैन ।

नाकाबाट भित्रिने नागरिकको व्यवस्थापन सरकारले गरेको देखिँदैन । केन्द्रमा गरेका कुराहरु भाषणमा मात्र समिति देखिन्छ । यसरी नेपाल भित्रिनेमा कोरोना संक्रमण समेत पुष्टि भइरहेकोछ । भने उनीहरुको मृत्यु समेत भइरहेकोछ ।