छोरोको आँखाको उपचार गर्न दिल्ली पुगेकी सुनिताको कोरोनाले लियो ज्यान


छोरोको आँखाको उपचार गर्न दिल्ली पुगेकी सुनिताको कोरोनाले लियो ज्यान

नेपालगन्ज ४ वैशाखः छोराको आँखाको उपचार गर्न दिल्ली पुगेकी दाङ साविक नारायणपुर गाविस वडा नम्बर–३ हाल घोराही नगरपालिका वडा नम्बर १० निवासी सुनिता सुवेदीको कोरोना संक्रमणले ज्यान लिएकोछ ।

छोराको एउटा आँखा प्यारालाइस भएपछि आँखाको उपचार गराउन काठमाण्डौं सम्म धाएकी सुनिता अन्ततः राम्रो उपचारका लागि भन्दै गत चैतमा भारतको दिल्ली पुगिन् ।

प्यारालाइस भएको छोराको आँखाको सफल उपचारपछि घर फर्केकी सुनिताको स्वास्थ्य अचानक विग्रन थाल्यो । कोरोना संक्रमणसंग मिल्दोजुल्दो लक्षण देखिएपछि गत चैत २६ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ल्याबमा पीसिआर जाँच गराउँदा उनीमा कोरोना पुष्टि भयो ।

कोरोना पुष्टि भएपश्चात भेरी अस्पताल नेपालगन्जको कोभिड वार्डमा उपचाररत सुनिता मृत्युसंग लडिरहिन् । हप्तौंसम्म अस्पतालको शैयामा मृत्युसंग लडिरहेकी सुनिता र उनको परिवार स्वास्थ्यमा सुधार आई घर फर्किने आशामा रहेका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

छोराको आँखाको उपचारका लागि भारतको दिल्ली पुग्दा उतै संक्रमित भएका कारण भारतमा फैलिएको कडाखाले कोरोना संक्रमणले ग्रसित भएको आशंका उनी र उनका परिवारले गरेका थिए । भेरी अस्पतालमा उपचार गराउँदै गर्दा उनको स्वास्थ्यमा सुधार भएन । उनलाई आईसीयु हुदैँ भेन्टिलेटरमा राखेर उपचार गरियो ।

भेन्टिलेटरमा राखेर उपचार गराइरहेकी सुनिताको स्वास्थ्यमा सुधार होला र छिटै घर फर्किने आशामा कोभिड वार्डबाहिर उनका श्रीमान डम्मर सुवेदी हप्तौंसम्म कुरिरहे । तर, लक्षणसहितको कडा खालको कोरोनाबाट संक्रमित सुनिताको अन्ततः उपचारकै क्रममा शनिबार राती १ः२७ बजे मृत्यु भयो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्शन तेज ओलीका अनुसार पछिल्लो समय सुनिताको स्वास्थ्य झन् जटिल बन्दै गएपछि उनको मृत्यु हुन पुगेको हो ।

एक छोरा र एक छोरीकी आमा सुनिताको मृत्युसंगै यतिबेला सुवेदी परिवार शोकमा डुवेकोछ । छोराको आँखाको उपचारका लागि दिल्ली पुगेर फर्केकी सुनिताको विरामी छोरामा भने कोरोना संक्रमण भएको छैन ।

मृतक सुनिताको पारिवारिक श्रोतअनुसार आजनै उनको हिन्दु परम्पराअनुसार बाँकेको अगैयामा दाहसंस्कार गरिदैँछ । योसंगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका ९४ जना संक्रमितको मृत्यु भइसकेकोछ ।