युवामा सबैभन्दा बढि संक्रमण (उमेरगत तथ्यांकसहित)
नेपालगन्ज ४ वैशाख : देशमा पछिल्लो समय कोरोना भाइरस संक्रमित संख्या ह्वात्तै बढेकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको पीसिआर परीक्षणमा पछिल्लो २४ घण्टामा ८४३ जना संक्रमित थपिएकाछन् । यो पछिल्लो समयको सबैभन्दा बढि संक्रमित भेटिएको संख्या हो ।
यसरी कोरोना पुष्टि हुनेमा पीसीआर विधिबाट ७६८ र एन्टीजेनबाट ७५ गरी कुल ८४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२६ जना निको भएका छन् भने देशभर ५ जनाको मृत्यु भएको छ ।
योससँगै देशभर कोराना संक्रमितको कुल संख्या २ लाख ८३ हजार ६५८ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७५ हजार ३८ पुगेको छ । यस्तै मृतकको संख्या ३ हजार ७५ पुगेको छ । पछिल्लो घण्टामा ६ हजार ४ जनामा कोरोना परीक्षण गरिएको थियो ।
जसमध्ये ५ हजार ५ सय ४५ जना आइसोलेसनमा छन् । देशभर हाल १३९ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन् ।
यसैबीच मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भेटिएका कुल संक्रमितमध्ये ३० देखि ३९ वर्ष उमेरका व्यक्तिको संख्या सबैभन्दा धेरै रहेको पाइएकोछ ।
८४३ सय कुल संक्रमितमध्ये ३० देखि ३९ वर्षका १८५ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि शुक्रबार सबैभन्दा धेरै संक्रमित भेटिनेमा २० देखि २९ वर्ष उमेरका व्यक्ति थिए ।
मन्त्रालयका अनुसार २० देखि २९ वर्षका १७५, ४० देखि ४९ वर्षका १३६, ५० देखि ५९ वर्षका ९८, १० देखि १९ वर्षका ७२, ६० देखि ६९ वर्षका ४९ जना संक्रमित छन् । यस्तै, ७० देखि ७९ वर्षका २९, नौ वर्ष मुनिका १७, ८० देखि ८९ वर्षका ४ र अज्ञात १ जनामा कोरोना पुष्टि भएको छ ।