आयोगले भन्यो -बालबालिकालाई जोखिममा नपार, बाँकेमा निजी विद्यालय निर्वाध सञ्चालन


आयोगले भन्यो -बालबालिकालाई जोखिममा नपार,  बाँकेमा निजी विद्यालय निर्वाध सञ्चालन

नेपालगन्ज ५ वैशाख : कोरोना संक्रमणका कारण बालबालिकाहरूमा बढ्दै गएको जोखिमबारे राष्ट्रिय मानवअधिकार आयोगले चिन्ता व्यक्त्त गरेको छ ।
कोरोनाको दोस्रो लहर बढ्दै जाँदा बालबालिकामा त्यसले बढी जोखिम निम्त्याएको र विद्यालयहरूमा संक्रमणसमेत बढ्न थालेको भन्नै आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगका प्रवक्त्ता डा.टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै बालबालिकाको स्वास्थ्यप्रति संवेदनशील हुन र पठनपाठनका लागि तत्काल वैकल्पिक व्यवस्था गर्न पनि आग्रह गरेका छन् ।

विद्यालय सञ्चालन गर्ने वा बन्द गर्ने भन्ने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा मन्त्रालयबाटै परस्परविरोधी वक्तव्य आउँदा अन्योल सिर्जना भएको पनि आयोगले जनाएको छ ।

‘विद्यालय सञ्चालन गर्ने गराउने विषयमा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शिक्षा मन्त्रालयबाटै परस्पर विरोधाभाषपूर्ण सूचना सम्प्रेषण नगर्न, अभिभावक र विद्यार्थीहरूमा मानोवैज्ञानिक त्रास सृजना नगर्न, स्वास्थ्यको विषयमा स्वास्थ्य मन्त्रालयको राय, सल्लाह, अनुरोध वा सूचना बमोजिम गर्न र स्वास्थ्य जस्तो संवेदनशील विषयलाई गम्भीरतापूर्वक लिई व्यवहार गर्न गराउन नेपाल सरकार तथा सम्बन्धित पक्षलाई आयोग आग्रह गर्दछ’ आयोगले भनेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

त्यस्तै कतिपय विद्यालयमा स्वास्थ्यका मापदण्ड पालना नभएकोप्रति पनि आयोगले ध्यानाकर्षण गराएको छ । आयोगले विद्यालयहरूको अनुगमन पनि गरेको थियो ।

‘अनुगमनबाट निजी विद्यालयको तुलनामा सरकारी विद्यालयमा स्वास्थ्यसम्बन्धी मापदण्डको पालना नभएको, विद्यार्थी सङ्ख्या धेरै भएका कारण मापदण्डको पालना गर्न सम्भव नभएको भन्ने शिक्षकहरूको भनाइ रहेको, टाउको दुःखेका बिरामीहरु समेत अन्य विद्यार्थीहरूसँगै कक्षा कोठामै राखिएको पाइएको छ’ आयोगले भनेको छ ।

यसैबीच, बाँकेमा बढ्दो कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी)ले आज आईताबरदेखि एकहप्ताका लागि जिल्लाका सम्पूर्ण शैक्षिक संस्था बन्द गरेकोछ ।

डिसिसिएमसीले जिल्लाका सम्पूर्ण शैक्षिक संस्था बन्द गरेपनि यहाँका निजी विद्यालयहरुले कोचिङ्गका नाममा सादा पोशाकमा विद्यार्थीलाई जबरजस्ती बोलाएर पढाइरहेकोछ । यसले पनि बालबालिका कोरोनाको मुखमा पुगेको प्रस्ट छ ।

यसपटक फैलिएको कोरोनाले सबैभन्दा बढि बालबालिका र युवा उमेर समुह संक्रमित भएकाछन् ।

समुदायमै कोरोना फैलिसकेपछि डिसिसिएमसीको निर्णयलाई लत्याउदै यहाँका निजी विद्यालयले मनोमानीरुपमा विद्यालय सञ्चालन गरिरहेकाछन् ।