कुन–कुन क्षेत्र बन्द हुँदैछन् ?
नेपालगन्ज ६ वैशाख : बाँके सहित देशभरका १४ जिल्लाका विद्यालय बन्द गर्ने सरकारले निर्णय गरेको छ । सरकारले सहरी क्षेत्रका विद्यालयहरूमा कोरोना भाइरस संक्रमण फैलिएको भन्दै यस्तो निर्णय गरेको हो । यस्तो निर्णयसंगै अब सो क्षेत्रका विद्यालयको पठनपाठन अनलाइन माध्यमबाट हुनेछ ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस महामारीबाट बालबालिका जोगाउन सहरी क्षेत्रका विद्यालयहरू वैशाखभरि बन्द गर्ने निर्णय गरेको छ ।
यस्तै सरकारले कोरोना संक्रमण नियन्त्रणसम्बन्धी आदेश पनि जारी गर्ने निर्णय भएको छ । आदेश आजै राजपत्रमा प्रकाशित हुनेछ । जसमा २५ जनाभन्दा बढी भेला हुन नपाउने लगायतका नियम छन् ।
देशका प्रमुख सहरका कोरोनाको नयाँ भेरिएन्ट भेटिएको र विद्यालय जाने उमेर समूहमा संक्रमण बढ्दै गइरहेकाले यस्तो निर्णय गरिएको मन्त्री श्रेष्ठले बताए । एसईई परीक्षाबारे भने मन्त्रिपरिषद्ले कुनै निर्णय गरेको छैन ।
सरकारले नयाँ भेरिएन्टसहितको कोभिड–१९ महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रण सम्बन्धी नियन्त्रणको आदेश २०७८ समेत पारित गरेको छ ।
यी क्षेत्रका शैक्षिक संस्था एक महिना बन्द
सरकारले बाँकेको नेपालगन्ज, धनगढी, भीमदत्त नगरपालिका, तुलसीपुर, घोराही, बुटवल, पोखरा, भैरहवा, हेटौंडा, काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, भरतपुर, काँकडभिट्टा, बिर्तामोड, दमक, बिराटनगर, इटहरी, धरान, बीरगंज, जनकपुर र राजविराज जस्ता सहर र सदरमुकाममा भौतिकरुपमा उपस्थित नभई शैक्षिक गतिविधि २०७८ बैशाख मसान्तसम्म भर्चुअलरुपमा सञ्चालन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
बैशाख मसान्तसम्म भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाइ सञ्चालन गर्ने, मेडिकल शिक्षाको प्रयोगात्मक कक्षा र पूर्वनिर्धारित परिक्षा जनस्वास्थ्यका मापदण्ड अपनाइ संचालन गर्ने निर्णय गरिएको शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
मन्त्री श्रेष्ठले जिल्लास्थित डीसीसीएमसीहरुले सिफारिस गरे अनुसार शिक्षण संस्थाहरु बन्द गरिने बताए । विद्यार्थीको भविष्य अन्यौल हुन नदिन वैकल्पिक माध्यमबाट पठनपाठन र परीक्षाहरु भने नरोकिने उनले बताए ।
कुन–कुन क्षेत्र बन्द हुँदैछन् ?
सरकारले मानिसकहरुको अत्यधिक भीडभाड हुने क्षेत्र र राजनीतिक दलका सभा समारोहमा समेत वैशाख महिनाभर रोक लगाउने निर्णय गरेको छ । बन्द हुने क्षेत्रका बारेमा विस्तृत २७ बुँदे जानकारी सरकारका प्रवक्ता पार्वत गुरुङले आजै पत्रकार सम्मेलनमार्फत जानकारी गराउनेछन् ।
मन्त्री श्रेष्ठका अनुसार सिनेमा हल, रात्रीकालिन मनोरन्जन क्षेत्र, डान्सबार, क्लब, दोहोरी, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, सभा, आमसभा, जुलुस, हाटबजार, दर्शकसहितको रंगशाला हुने खेलकुद, भीडभाड हुने सबै कार्यक्रममा जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न कठिन हुने र जोखिम कायमै हुने हुँदा २०७८ बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।
साथै, मठमन्दिर, मस्जिद गुम्बामा नित्यपूजा मात्र गराउने निर्णय पनि भएको छ । आजदैखि मन्त्रिपरिषद्का निर्णय लागू हुने शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले बताए ।