स्कुले बालबालिकामा रुघाखोकी र ज्वरो, कोरोनाको आशंकामा स्थानीय त्रसित


स्कुले बालबालिकामा रुघाखोकी र ज्वरो, कोरोनाको आशंकामा स्थानीय त्रसित

सांकेतिक तस्विर

जुम्ला ६ वैशाख : जुम्लामा पछिल्लो समय रुघाखोकी र ज्वरोले विद्यालयमा अध्ययनरत बालबालिका प्रभावित हुन थालेका छन् । रुघाखोकी, ज्वरो आएर बान्ता गर्ने, ढल्ने अवस्था भएपछि ग्रामीण क्षेत्रका विद्यालय तथा समुदायमा त्रासदी फैलिएको छ ।

रुघाले ग्रस्त बनाउने, खोकी लाग्ने र बान्ता गर्ने समस्या कोरोना महमारी हो कि भन्ने स्थानीयवासीले शंका गर्न थालेका छन् । जुम्ला तातोपानी गाउँपालिका–८ टोप्ला गाउँको कालिका माविमा अध्ययनरत ४७२ विद्यार्थीमाध्ये करिब ४० प्रतिशत विद्यार्थीमा एक हप्तादेखि रुघाखोकी र ज्वरोको प्रभाव देखिएको विद्यालयका प्रधानाध्यापक मानबहादुर शाहीले जानकारी दिए ।

‘यहाँ बालबालिका मात्र होइन, ज्येष्ठ नागरिकमा पनि यो समस्या देखिएको छ’, उनले भने, ‘शुक्रबार जनस्वास्थ्य सेवा कार्यालय जुम्लाबाट गएको पाँचजना स्वास्थ्यकर्मीको टोलीले जाँच गरी औषधि दिएर फर्केको छ ।’ उक्त कार्यालयका प्रमुख कृष्णप्रसाद सापकोटाले स्वास्थ्य परीक्षणका क्रममा मौसमी रुघाखोकीको समस्या देखिएकाले बिरामी बालबालिका तथा ज्येष्ठ नागरिकलाई जाँचपश्चात् औषधि दिएर फर्केको बताए ।

‘धेरै विद्यार्थी बिरामी भएको खबर पाएपछि हामीले घटनास्थलमै पुगेर स्वास्थ्य परीक्षण गरेका हौँ,’ प्रमुख सापकोटाले भने, ‘जिल्लाभरको प्रदूषित मौसम हावाहुरीका कारण ज्वरो र रुघाखोकी बढिरहेको देखिन्छ ।’ उनीहरुलाई एक हप्तासम्म घरमै बस्न, बाहिर ननिस्कन सुझावसहित औषधिको व्यवस्था गरेर स्वास्थ्यकर्मीको टोली फर्किएको छ ।
विद्यालयका अध्यक्ष सुरतबहादुर शाहीले विद्यार्थीमा अत्यधिक रुघाखोकी र ज्वरो बढेका कारण स्थानीय प्रशासनलाई गुहारेर स्वास्थ्य टोलीको सहयोग लिइएको बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

सकेसम्म शिविर सञ्चालन गर्ने बताउँदै अध्यक्ष शाहीले बालबालिकाका साथै सबै उमेर समूहका मानिसमा यो समस्या देखिएको बताए । यो समस्या जनजागृति मावि ताम्ती जुम्लामा पनि देखिएको थियो ।

यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका बालरोग विशेषज्ञ डा सन्दीप श्रेष्ठले प्रदूषणका कारण रुघाखोकी र ज्वरोका बिरामी बढेको बताए । -रासस