सांकेतिक तस्विर
जुम्ला ६ वैशाख : जुम्लामा पछिल्लो समय रुघाखोकी र ज्वरोले विद्यालयमा अध्ययनरत बालबालिका प्रभावित हुन थालेका छन् । रुघाखोकी, ज्वरो आएर बान्ता गर्ने, ढल्ने अवस्था भएपछि ग्रामीण क्षेत्रका विद्यालय तथा समुदायमा त्रासदी फैलिएको छ ।
रुघाले ग्रस्त बनाउने, खोकी लाग्ने र बान्ता गर्ने समस्या कोरोना महमारी हो कि भन्ने स्थानीयवासीले शंका गर्न थालेका छन् । जुम्ला तातोपानी गाउँपालिका–८ टोप्ला गाउँको कालिका माविमा अध्ययनरत ४७२ विद्यार्थीमाध्ये करिब ४० प्रतिशत विद्यार्थीमा एक हप्तादेखि रुघाखोकी र ज्वरोको प्रभाव देखिएको विद्यालयका प्रधानाध्यापक मानबहादुर शाहीले जानकारी दिए ।
‘यहाँ बालबालिका मात्र होइन, ज्येष्ठ नागरिकमा पनि यो समस्या देखिएको छ’, उनले भने, ‘शुक्रबार जनस्वास्थ्य सेवा कार्यालय जुम्लाबाट गएको पाँचजना स्वास्थ्यकर्मीको टोलीले जाँच गरी औषधि दिएर फर्केको छ ।’ उक्त कार्यालयका प्रमुख कृष्णप्रसाद सापकोटाले स्वास्थ्य परीक्षणका क्रममा मौसमी रुघाखोकीको समस्या देखिएकाले बिरामी बालबालिका तथा ज्येष्ठ नागरिकलाई जाँचपश्चात् औषधि दिएर फर्केको बताए ।
‘धेरै विद्यार्थी बिरामी भएको खबर पाएपछि हामीले घटनास्थलमै पुगेर स्वास्थ्य परीक्षण गरेका हौँ,’ प्रमुख सापकोटाले भने, ‘जिल्लाभरको प्रदूषित मौसम हावाहुरीका कारण ज्वरो र रुघाखोकी बढिरहेको देखिन्छ ।’ उनीहरुलाई एक हप्तासम्म घरमै बस्न, बाहिर ननिस्कन सुझावसहित औषधिको व्यवस्था गरेर स्वास्थ्यकर्मीको टोली फर्किएको छ ।
विद्यालयका अध्यक्ष सुरतबहादुर शाहीले विद्यार्थीमा अत्यधिक रुघाखोकी र ज्वरो बढेका कारण स्थानीय प्रशासनलाई गुहारेर स्वास्थ्य टोलीको सहयोग लिइएको बताए ।
सकेसम्म शिविर सञ्चालन गर्ने बताउँदै अध्यक्ष शाहीले बालबालिकाका साथै सबै उमेर समूहका मानिसमा यो समस्या देखिएको बताए । यो समस्या जनजागृति मावि ताम्ती जुम्लामा पनि देखिएको थियो ।
यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका बालरोग विशेषज्ञ डा सन्दीप श्रेष्ठले प्रदूषणका कारण रुघाखोकी र ज्वरोका बिरामी बढेको बताए । -रासस
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु