नेपालगन्ज ६ वैशाख : कोरोना सङ्क्रमण बढेसँगै सरकारले जोखिम न्यूनीकरणका लागि विभिन्न आदेश जारी गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सङ्क्रामक रोग ऐन, २०२० को दफा (२) बमोजिम आदेश जारी गरेको हो ।
सरकारले नेपालगन्ज, धनगढी, भीमदत्तनगर, वीरेन्द्रनगर, घोराही, तुलसीपुर, बुटवल, पोखरा, काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका महानगरपालिका, नगरपालिका, विराटनगर, वीरगञ्ज, भरतपुर, इटहरी, धरान, जनकपुर, हटौँडा, मेची नगर, विर्तामोड, दमक, राजविराज, बनेपा, धुलिखेल, सिद्धार्थनगर नगरपालिकामा रहेका शैक्षिक संस्था, विद्यालय, इन्स्टिच्युट, तालिम केन्द्र लगायतलाई यही वैशाख मसान्तसम्म भौतिकरुपमा उपस्थित नभई भर्चुअल तथा वैकल्पिक शिक्षण सिकाइ विधि अपनाई सञ्चालन गर्ने आदेश जारी गरेको छ ।
विद्यालय र कलेजका पूर्वनिर्धारित परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक परीक्षा भने जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन हुनेछन् । सिनेमा हल, पार्टी प्यालेस, दोहोरी, डान्स क्लब, हेल्थ क्लब, जिम खाना, पौडी पोखरी, फुटसल, आमसभा, जुलुस, हाटबजार, रङ्गशालामा हुने दर्शकसहितका खेल र मानिसको भीडभाड हुने सबै प्रकारका कार्य पनि वैशाख मसान्तसम्म बन्द गरिएको छ ।
मठमन्दिर, मस्जिद, गुम्बा, चर्चलगायत धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी वैशाख मसान्तसम्म नित्यपूजा, ध्यान र प्रार्थना मात्र गर्न पाउने, एक पटकमा २५ जनाभन्दा बढी हुन नहुने, सामाजिक दूरी अवलम्बन गर्ने गरी शपिङ मल, डिपार्टमेन्टल स्टोर सञ्चालन गर्ने, मास्क र साबुनपानीको व्यवस्था व्यवस्थापकले नै गर्नुपर्ने, मेला, जात्रा, पर्व, विवाहलगायत धार्मिक अनुष्ठान र मलामीलगायत धार्मिक तथा परम्परागत कार्यक्रममा २५ जनाभन्दा बढी सहभागी हुन पाइने छैन ।
विवाह वा व्रतबन्धका लागि पार्टी प्यालेसको प्रयोग गर्नु पर्दा स्थानीय प्रशासनको पूर्वस्वीकृति लिनुपर्ने, सभा, सम्मेलन, गोष्ठी, तालीमलगायत क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्नुपर्ने, भौतिक रुपमा उपस्थित भई गर्नै पर्ने भएमा बढीमा २५ जना मात्र उपस्थित हुनुपर्नेछ ।
सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, यात्रुलाई मास्क अनिवार्य गर्ने, सवारी साधनको ढोका र भित्र स्यानिटाइजरको अनिवार्य व्यवस्था गर्ने, चालक र सवारी चालकले मास्क अनिवार्य लगाउनुपर्ने, सवारी सधानलाई दैनिक निसङ्क्रमण गर्नुपर्नेछ ।
हवाईजहाजका चालक र यात्रुलाई अनिवार्य मास्क, जहाज र झोलालाई स्यानिटाइज गर्नुपर्ने, कार्यालय र पसलमा स्यानिटाइजरको व्यवस्था अनिवार्य गर्ने, कुनै व्यक्तिले मास्क नलगाई आएमा व्यवस्थापकले रु १० लिई मास्क प्रदान गर्नुपर्ने, मास्क नलगाउने व्यक्तिलाई कार्यालय प्रवेशमा रोक लगाउने आदेश जारी गरेको छ ।
यस्तै होटेल तथा रेष्टुरेन्टले बिहान ८ देखि बेलुका ८ बजेसम्म स्वास्थ्य मापदण्ड पालना गरी सेवा दिनुपर्ने, अन्य समयमा होम डेलिभरी गर्नुपर्ने, राष्ट्रिय राजमार्गमा सञ्चालित होटेल तथा रेष्टुरेन्टले जनस्वास्थ्यका मापदण्ड पालना गरी भीडभाड हुन नदिने व्यवस्था मिलाउने, नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी प्रणाली लागू गर्न व्यवस्था मिलाउने, नियमित सञ्चालन हुने स्वास्थ्य संस्था स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्नुपर्नेछ ।