बाँकेमा एकैदिन ३२२ जना संक्रमित फेला परे

डिसिसिएमसीको कोरोना नियन्त्रण संयत्र फेल


बाँकेमा एकैदिन ३२२ जना संक्रमित फेला परे

नेपालगन्ज ६ वैशाखः कोरोना भाइरस संक्रमण देखिएको यति लामो समयमा पहिलो पटक बाँकेमा ठूलो संख्यामा कोरोना संक्रमित भेटिएकाछन् ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार गतवर्षदेखि हालसम्मकै दर हेर्दा आज (सोमबार) बाँकेमा भेटिएका कोरोना संक्रमितको आँकडा उच्च हो ।

Kids Festival 2022
kanti aarogya hospital

बाँकेका तीन वटा प्रयोगशालामा गरिएको ६३१ नमुना परीक्षणमा कुल ३२२ जना संक्रमित फेला परेकाछन् । भेरी अस्पतालको ल्याबबाट २१९, बागेश्वरी ल्याबबाट ३७ र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ल्याबबाट ६६ जना गरि ३२२ जनामा कोरोना पुष्टि भएको छ । यो नै बाँकेको हालसम्मकै ठूलो मात्रामा भेटिएका संक्रमित हुन् । यसले बाँकेमा कोरोना भाइरस संक्रमण नियन्त्रण बाहिर गएको पुष्टि गरेकोछ ।

केन्द्रका अनुसार भेरी अस्पताल नेपालगन्जमा भेटिएका संक्रमित पनि हालसम्मकै उच्च हो । भेरीमा पछिल्लो २४ घण्टामा गरिएको ३ सय ७५ नमुना परीक्षणमा २ सय १९ जनामा संक्रमण पुष्टि भएका छन् । यसअघि बाँकेका तीन वटा ल्याबमा गरिएको नमुना परीक्षणमा १०९ जना पुरुष र ९१ जना महिला गरि जम्मा २ सय जनामा कोरोना पुष्टि भएको थियो ।