बाँकेका थप दुई संक्रमितको मृत्यु


बाँकेका थप दुई संक्रमितको मृत्यु

नेपालगन्ज ७ वैशाख : कोरोना भाइरस संक्रमणका कारण बाँकेमा २ जना संक्रमितको मृत्यु भएकोछ ।

बाँकेको कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुई कोरोना संक्रमितको मृत्यु भएको हो ।

कोहलपुर नगरपालिका वडा नम्बर–२, बर्दहवाकी ३५ वर्षीया महिला र कोहलपुर नगरपालिका वडा नम्बर– २ कै ७७ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले बताए ।

३५ वर्षीया महिलाको सोमबार दिउँसो ३ बजे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारकै क्रममा मृत्यु भएको हो । स्वास्थ्य समस्या आएपछि सोमबार बिहान मात्र अस्पतालमा उपचारका लागि भर्ना भएकी उनको राती मात्र पीसिआर रिपोर्ट पोजिटिव आएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै, स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि सोमबार बिहान नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल ल्याइएका ७७ वर्षीय पुरुषको कोरोना परीक्षणका लागि स्वाब दिएर घर लगिएको थियो । उनलाई कोरोना पोजिटिव पुष्टि भएपछि उपचारका लागि अस्पताल ल्याउदै गर्दा मृत्यु भएको बताइएको छ ।

योसँगै बाँकेमा ६३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भने बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएका ९८ संक्रमितको मृत्यु भइसकेकोछ ।

बाँकेमा पछिल्लो समय कोरोना भाइरस संक्रमण तिव्ररुपमा फैलिएकोछ । सोमबार मात्र बाँकेमा एकैपटक ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएकाछन् । यो हालसम्मकै सवैभन्दा बढि संक्रमित संख्या हो ।