नेपालगन्ज ७ वैशाख : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयका सबै कर्मचारीलाई कोरोना पुष्टि भएकोछ ।
वडाका सबै कर्मचारीलाई कोरोना पुष्टि भएपछि वडाअध्यक्ष प्रमोद रिजालले परिस्थिती अनुकुल नभएसम्मका लागि वडा कार्यालय बन्द गरिएको बताएकाछन् ।
वडाअध्यक्ष रिजालले सेतोखरीसंग कुरा गर्दै भने–‘वडामा कार्यरत सबै कर्मचारीलाई कोरोना पुष्टि भएकोछ । कर्मचारीलाई कोरोना पुष्टि भएपछि वडाबाट प्रदान गर्दै आएको सेवा प्रवाह प्रभावित बनेकोछ ।’
उनले भने–‘वडाका सवै कर्मचारीलाई कोरोना लाग्यो, आज एक जना कर्मचारी र एक जना जनप्रतिनिधी पीसिआर जाँच गराउन जानुभएकोछ । यस्तो अवस्थामा कोरोना झन फैलिन सक्ने भन्दै परिस्थिती अनुकुल नभएसम्मका लागि वडा बन्द गरिएकोछ ।’
सेतोखरीसंग कुरा गर्दै वडाअध्यक्ष रिजालले भने–‘यस्तोमा सेवा दिन गाह्रो छ । अत्यावस्यक सेवा प्रदान गर्नुपर्ने नै अवस्था आएमा त्यसको वैकल्पिक बाटो पहिल्याइनेछ ।’
वडाअध्यक्ष रिजालका अनुसार हिजो आएको पीसिआर रिर्पोटमा ३ जना र अस्ति आएको रिर्पोटमा ३ जनामा कोरोना पुष्टि भएकोछ । यसरी हेर्दा वडाका ३ महिला र ३ पुरुष गरि ६ जना कर्मचारीलाई कोरोना पुष्टि भएकोछ । कोरोना पुष्टि हुनेहरु कार्यालय प्रमुख, लेखापाल, प्राविधिक, अनमि, सहजकर्ता लगायतका कर्मचारी छन् ।
यसरी संक्रमित हुनेहरु सवैको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनमा रहेको वडाअध्यक्ष रिजालले जानकारी दिए । उनले भने संक्रमित हुनेहरुमध्ये केहीलाई ज्वोरो, कसैलाई खोकी, कसैलाई रुघा लागेको छ भने कसैलाई ज्वोरो, रुघाखोकी लागेकोछ ।
नेपालगन्जमा तिव्ररुपमा फैलिएको कोरोना भाइरस संक्रमणको चपेटमा यतिबेला कोही पनि अछुतो हुन सकेका छैनन् । संक्रमितको संख्या दिनहुँ उकालो लागिरहेको छ भने मृतकको संख्या पनि उत्तिकै बढिरहेकोछ ।
यसअघि गत वर्ष फैलिएको कोरोना महामारिमा वडाअध्यक्ष प्रमोद रिजाल स्वयम कोरोना पोजेटिभ भएका थिए । लामो समय आइसोलेसनमा रही स्वास्थ्य लाभ पश्चात उनी डिस्चार्ज भएका थिए । यसपटक वडाअध्यक्ष स्वमय पोजेटिभ नभएको र अन्य जनप्रतिनिधीहरुमा पनि संक्रमण नपाइएको उनले बताए ।