४८ घण्टामा बाँकेका ४८३ जनामा कोरोना पुष्टि (अपडेट)

मङ्गलबार मात्रै ३५३ नमुना परीक्षण गर्दा २८९ जनामा संक्रमण


४८ घण्टामा बाँकेका ४८३ जनामा कोरोना पुष्टि (अपडेट)

नेपालगन्ज ७ वैशाख : तिव्ररुपमा फैलिएको कोरोना संक्रमणले बाँकेको अवस्था भयाबह बनाएकोछ ।

बाँकेमा कोरोना संक्रमण नियन्त्रणभन्दा बाहिर पुगेको पछिल्लो संक्रमण दरले पुष्टि गरेकोछ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेको तथ्यांक अनुसार पछिल्लो ४८ घण्टामा बाँकेमा ४८३ जना कोरोना संक्रमणको नयाँ केस फेला परेकोछ ।

पछिल्लो ४८ घण्टामा कुल नमुना ९८५ परीक्षण गर्दा जम्मा ६११ जनामा कोरोना पुष्टि भएको छ । जसमा बाँकेको मात्र ४८३ जनामा कोरोना पोजेटिभ पाइएको हो ।

केन्द्रको तथ्यांकलाई हेर्दा बाँकेका तीनवटा प्रयोगशालामा गरिएको कुल ३५३ नमुना परीक्षणमा १२३ महिला र १६६ पुरुष गरि कुल २८९ जनामा संक्रमण पुष्टि भएकोछ । जसमध्ये ३१ महिला र ३९ पुरुष गरि ७० जना बाहिरी जिल्लाका संक्रमित रहेकाछन् ।

Kanti Aarogya Hospital Nepalgunj

यसअघि सोमबार बाँकेका तीनवटै प्रयोगशालामा कुल ६३२ नमुना परीक्षण गर्दा १२८ महिला र १९४ पुरुष गरि कुल ३२२ जनामा कोरोना पुष्टि भएको थियो । जसमध्ये १९ महिला र ३९ पुरुष गरि ५८ जना बाहिरी जिल्लाका संक्रमित रहेका थिए ।

बाँकेका तीनवटै प्रयोगशालामा ४८ घण्टामा गरिएको नमुना परीक्षणमा बाँकेको मात्रै सोमबार २६४ र मङ्गलबार २१९ गरि कुल ४८३ जनामा कोरोना संक्रम पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्शन तेज ओलीले जानकारी दिए ।

उनका अनुसार मङ्गलबार रातीसम्म भेरी अस्पतालको कोभिड वार्डमा जर्ननल वार्डमा ९५ जना, आइसियुमा ४० जना र भेन्टिलेटरमा ७ जना गरि कुल १४२ जना उपचाररत रहेकाछन् ।

यस्तै पछिल्लो ४८ घण्टाको तथ्यांकलाई हेर्दा सोमबार बाँके बाहिरकी १ महिला र बाँकेको एक पुरुष तथा मङ्गलबार रातीसम्म बाँकेका दुई पुरुष र १ महिलाको गरि जम्मा ५ जनाको मृत्यु भइसकेकोछ ।

बाँकेमा मङ्गलबार बेलुकासम्म कुल ६४ जना संक्रमितको मृत्यु भइसकेकोछ भने बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आएका ९८ जनाको मृत्यु भइसकेकोछ ।
बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि डिसिसिएमसीले ९ गतेदेखि एक हप्ताका लागि बाँके जिल्लामा लकडाउन गर्ने जनाएकोछ ।

(अपडेट : मङ्गलबार राती ११ः३६ बजे)