भारतमा एकैदिन थपिए करिब ३ लाख संक्रमित

२ हजार बढीले गुमाए ज्यान


भारतमा एकैदिन थपिए करिब ३ लाख संक्रमित

नेपालगन्ज ८ वैशाखः भारतमा कोरोना संक्रमणको संख्या दिनप्रतिदिन तीव्र गतिमा फैलिइरहेको छ । दिनहुँ संक्रमणका नयाँ रेकर्ड कायम हुने क्रम जारी छ । पछिल्लो २४ घण्टामा भारतमा करिब ३ लाख नयाँ संक्रमित थपिएका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा हालसम्मकै सबैभन्दा बढी २ लाख ९५ हजार ४१ नयाँ संक्रमित भेटिएका छन् । नयाँ थपिएका संख्यासँगै कुल संक्रमित संख्या १ करोड ५६ लाख ९ हजार ४ पुगेको छ ।

भारतमा संक्रमितको संख्या मात्रै होइन संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या पनि बढ्दो छ । भारतमा हालसम्म १ लाख ८२ हजार ५ सय ७० जनाले संक्रमणकै कारण ज्यान गुमाइसकेका छन् । जसमा पछिल्लो २४ घण्टामा मात्रै २ हजार २३ जनाले ज्यान गुमाएका छन् । भारतमा संक्रमणका एक्टिभ केश २१ लाख ५६ हजार ५ सय ७१ छन् ।

संक्रमणबाट पछिल्लो समय महाराष्ट्र सबैभन्दा पीडित बनेको छ । महाराष्ट्रमा मात्रै पछिल्लो २४ घण्टामा ६२ हजार ९७ नयाँ संक्रमित फेला परेका छन् । सोही समयमा ५१९ जनाले ज्यान गुमाएका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै दिल्लीमा पछिल्लो २४ घण्टामा २८ हजार ३ सय ९५ नयाँ संक्रमित फेला पर्दा २७७ जनाले संक्रमणकै कारण ज्यान गुमाएका छन् । यस्तै उत्तर प्रदेशमा २९ हजार ७ सय ५४ र गुजरातमा १२ हजार २ सय ६ नयाँ संक्रमित फेला परेका छन् ।