बाँकेका मात्रै ७० जनाले ज्यान गुमाए
नेपालगन्ज १० वैशाख : बाँकेमा कोरोना संक्रमणबाट मर्नेको संख्या १६९ पुगेकोछ । जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार यसरी ज्यान गुमाउनेमा बाँकेका ७० जना र बाँके बाहिरका ९९ जना गरि १६९ जनाको मृत्यु भएको हो ।
केन्द्रका अनुसार बाँकेमा शुक्रबार कोरोना भाइरस संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा जिल्लाका २ जना र जिल्ला बाहिरका १ जना गरि ३ जना संक्रमितको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा बनगाड–३ सल्यानका ५६ वर्षिय पुरुष, जानकी गाउँपालिका–१ बाँकेका ७१ वर्षिय महिला र बैजनाथ गाउँपालिका–६ बाँकेका २८ वर्षिय पुरुष रहेको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
कोरोना भाइरस संक्रमण करिब नियन्त्रण बाहिर गइसकेको बाँकेमा संक्रमण दरसँगै मृत्यु दरपनि उस्तै बढिरहेको छ । यसअघि बिहीबार दिउँसो मात्रै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ र १ वडाका दुई बृद्धा (महिला)को मृत्यु भएको थियो । नेपालगन्ज मेडिकल कलेजमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ की ८६ वर्षीया र वडा नम्बर १ की ६५ वर्षीया दुई बृद्धा(महिला)को मृत्यु भएको थियो ।
गम्भीर प्रकृतिका बिरामीहरु बढि रहेका कारण मृत्यु दर बढिरहेको कोरोना संक्रमित उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।