नेपालगन्ज १० वैशाख : कोरोना भाइरस संक्रमित उपचारका लागि आवश्यक पर्ने अक्सिन अभाव भएपछि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मोहम्मद सफिक बेहनाले २ लाख नगद सहयोग गरेकाछन् ।
भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमितका लागि आवश्यक पर्ने अक्सिजन अभाव भएको समाचार बाहिरीएपछि वडाअध्यक्ष एवम राप्रपा बाँकेका सहसचिव समेत रहेका बेहनाले उक्त सहयोग गरेका हुन् ।
वडाअध्यक्ष बेहना भेरी अस्पतालमा पुगी नगद दुई लाख रुपैयाँ भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताललाई बुझाएका हुन् । सो क्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल सम्शेर राणा, मेसु डाक्टर प्रकाश थापा समेतको उपस्थिती रहेको थियो ।
मनकारीहरुलाई सहयोगको आग्रह गर्दै वडाध्यक्ष बेहनाले भनेका छन्, ‘तपाईको सानो सहयोगले बिरामी र अस्पताललाई सहज हुनेछ ।’ बाँकेमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढिरहेको छ । कोरोना संक्रमणको दर बढेसँगै अस्पतालमा बिरामीको चाप बढेको र अक्सिजनसमेत अभाव भएपछि आफुले सक्दो सहयोग गरेको हुँ ।
तिव्ररुपमा फैलिएको कोरोना संक्रमणका कारण यतिबेला स्वास्थ्यकर्मी चिन्तित छन् । सर्वसाधारण भयभीत बनेका छन् । कोरोना संक्रमणको दर बढेसँगै चिकित्सक र अस्पतालले बिरामी थाम्न सक्ने अवस्था छैन । भेरी अस्पतालमा बेड भरिएका छन् । बिरामीका लागि चाहिने अक्सिजन अभाव भएको छ ।
भेरी अस्पतालमा कोरोना संक्रमितको संख्या बढेसँगै बिरामीका लागि चाहिने अक्सिजनको समेत अभाव भएको छ । यस्तो अवस्थामा तीनै तहका सरकार कानमा तेल हालेर सुतिरहेका छन् ।