बाँकेमा कोरोना संक्रमण नियन्त्रणबाहिर

विरामी बचाउन काठमाण्डौंबाट मेडिकल टिम नेपालगन्ज ल्याउन माग

सरोकारवालाद्वारा १३ बुँदे सार्वजनिक अपील जारी


विरामी बचाउन काठमाण्डौंबाट मेडिकल टिम नेपालगन्ज ल्याउन माग

नेपालगन्ज १० वैशाख : पछिल्लो समयमा नेपालगन्जमा कोरोना संक्रमणका कारण देखिएका समस्या र यसले निम्त्याएको संकटका सन्दर्भमा नेपालगन्जस्थित स्वास्थ्यकर्मी, पत्रकार, कानून व्यवसायी, मानव अधिकारकर्मी, नागरिक समाजका अगुवाहरुको एक छलफलले सरोकारवालाहरुको ध्यानाकर्षण गराएको छ ।

नेपाल पत्रकार महसङ्घ बाँके शाखाको संयोजनमा शुक्रबार बसेको बैठकले यस्तो ध्यानाकर्षण गराउदै सार्वजनिक अपील गरेको छ ।

कोरोनाका कारण देशले भोग्दै आइरहेको संकट र यसको सामनाका लागि सवै क्षेत्रको दायित्व र भूमिका महत्वपुर्ण हुने भएको भन्दै उक्त सार्वजनिक अपील जारि गरिएको हो ।

बैठकमा सहभागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका उपनिर्देशक डाक्टर नितेश कुमार कनोडियाले मेडिकल टिम र विरामी व्यवस्थापनको अभावमा संक्रमितको मृत्यु भइरहेको बताएका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

उनले कोरोना भाइरस संक्रमणका लागि मेडिकल कलेजमा बेड थप्न सक्ने बताउँदै त्यसका लागि प्रयाप्त मेडिकल टिम नभएको जिकिर गरे ।

यस्तै बैठकमा नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका सहायक प्राध्यापक डाक्टर आसिम किदवाईले बाँकेमा कोरोना संक्रमित विरामी बचाउन काठमाण्डौंबाट मेडिकल टिम ल्याउनुपर्नेमा जोड दिए । उनले अगाडी भने –‘यहाँका स्वास्थ्यकर्मीले सकिरहेका छैनन् । दिनहुँजसो स्वास्थ्यकर्मी संक्रमित समेत भइरहेकाछन् । काठमाण्डौंबाट मेडिकल टिम आयो भने सम्भव छ । हामी बेड थप्नसक्छौं ।’

महासंघ बाँके शाखाको संयोजनमा भएको छलफलमा स्वास्थ्यकर्मी, पत्रकार, कानून ब्यवसायी, मानव अधिकारकर्मी र नागरिक समाजका अगुवाहरुले प्रयाप्त समन्वय अभावमा कोरोना संक्रमितको प्रभावकारि उपचार हुन नसकेको बताएका थिए ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेले कोरोना संक्रमित विरामीको उपचारमा जिल्लामा रहेका अस्पतालसंग समन्वय समेत नगरिरहेको बैठकमा सहभागिहरुले बताए ।

बाँकेको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कोरोना संक्रमितको उपचार भइरहेकोछ । तर, दिनहुँ तीन सय भन्दा माथिका कोरोना संक्रमित भेटिरहँदा यी अस्पतालका सबै बेड भरिभराउछ । कुनै पनि अस्पतालमा थप कोरोना संक्रमितका विरामी राखेर उपचार गराउने ठाँउ छैन । दिनहुँ संक्रमित मृत्यु हुने आँकडा पनि बढिरहेकोछ ।

उक्त बैठकले कोरोना संक्रमण नियन्त्रणका लागि देखिएका ११ बुँदे समस्या औल्याउँदै सम्बन्धित निकायलाई १३ बुँदे सुझाव समेत दिइएकोछ ।

यी हुन सार्वजनिक अपीलमा देखिएका समस्याहरु

१– सरोकारवाला बिचको आपसी समन्वयका अभावमा बिरामीहरु अलपत्र भई छोटो समयमै बिरामीको दुःखद मृत्यु हुने गरेको ।
२– मेडिकल जनशक्तिको अभाव देखिएको ।
३– अक्सिजनको अभाव हुन सक्ने संभावना देखिएको ।
४– स्थानीय सरकारका काम कारवाही प्रभावकारी नदेखिएको ।
५– साधन श्रोतको अभाव देखाई कोभिड नियन्त्रण र उपचारका काम प्रभावकारी बन्न नसकेको ।
६– सेन्ट्रल कमाण्ड मार्फत एकद्वार प्रणालीबाट काम हुन नसकेको ।
७– सचेतनाका कार्यक्रम प्रभावकारी बन्न नसकेको ।
८– महामारीबाट बच्न आमनागरिकहरुले सुरक्षा मापदण्डहरु पालना नगरेको ।
९– नेपाल–भारत सीमा क्षेत्रमा आवागमनको समुचित ब्यवस्थापन हुन नसकेको ।
१०– समुदायस्तरमा फैलिसकेको कोरोना संक्रमणको पीसिआर परीक्षण गाउँस्तरसम्म पुग्न नसकेको ।
११– स्थानीय तहको भुमिका प्रभावकारी नदेखिएको ।

यी हुन सार्वजनिक अपीलबाट सम्बन्धित निकायलाई दिइएको सुझावहरु:

१– केन्द्रबाट तत्काल दक्ष जनशक्ति खटाउने ब्यवस्था मिलाउनु पर्ने ।
२– गम्भीर र सामान्य बिरामी राख्न छुट्टा–छुट्टै आईसोलेसन केन्द्रको ब्यवस्था मिलाउने ।
३– अक्सिजनको अभाव हुन नदिने ।
४– एकद्वार प्रणालीबाट बिरामीको भर्ना र उपचारको ब्यवस्था मिलाउने ।
५– कोभिड हटलाईन नम्बर राखी सूचना प्रणालीलाई प्रभावकारी बनाउने ।
६– कोभिड फोकल पर्सनको भुमिका प्रभावकारी हुनुपर्ने ।
७– ब्यवस्थापन पक्ष प्रभावकारी हुनुपर्ने ।
८– सेन्ट्रल कोभिड कमाण्ड प्रणालीको बिकाश गरिनुपर्ने । पीसिआर परीक्षणको दायरा बढाउनु पर्ने । कन्ट्याक्ट ट्रेसिङ्गका आधारमा पीसिआर परीक्षणको ब्यवस्था मिलाउने ।
१०– महामारीको बेलामा स्थानीय सरकारको भुमिका अझ प्रभावकारी हुनुपर्ने ।
११– सीमा नाका हुदै नेपाल भित्रिएका नागरिकहरुको कोभिड–१९ को संक्रमण भए÷नभएको सुनिश्चितताका लागी आवश्यक परीक्षण गर्नुपर्ने, १२– स्थानीय तहहरुमा आवश्यक संख्यामा स्वास्थ्य मापदण्ड सहितका क्वारेन्टाइन र आइशोलेसन केन्द्रहरु निमार्ण गर्ने, सार्वजनिक तथा भिडभाड हुने स्थानमा अनिवार्य रुपमा स्वास्थ्य मापदण्डको पालना गराउनुपर्ने ।
१३– बृद्धबृद्धा, गर्भवती महिला, एकल महिला, बालबालिका, फरक क्षमता भएका ब्यक्ति, दीर्घ रोगी, जेष्ठ नागरिक, लैंगिक तथा यौनिक अल्पसंख्यकहरु तथा अति विपन्न वर्गहरुलाई क्वारेन्टिन तथा आईसोलेसन केन्द्रमा प्राथमिकतामा राखेर उपचार गर्नको लागि पहल गर्नुपर्ने ।

सुनील कुमार श्रेष्ठ (वरिष्ठ उपाध्यक्ष) नेपाल बार एशोसिएसन, दामोदर भण्डारी (अध्यक्ष) नेपाल पत्रकार महासंघ, बाँके, भोला महत (प्रदेश प्रमुख) अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक, नेपालगन्ज), शिव कुमार श्रेष्ठ (अध्यक्ष) नेपालगन्ज उच्च बार, वसन्त गौतम (प्रमुख) एडभोकेसी फोरम, डा. आसिम किदवाई (सहायक प्राध्यापक) नेपालगन्ज मेडिकल कलेज, डा. नितेश कुमार कनोडिया (उप निर्देशक) नेपालगन्ज मेडिकल कलेज, डा. राहुल थापा (प्रवन्ध निर्देशक) वेस्टर्न अस्पताल, बिकाश आचार्य (पुर्व अध्यक्ष) नेपालगन्ज उच्च बार र भेरी अस्पताल नेपालगन्ज ब्यवस्थापन समितिका सदस्य कृष्ण श्रेष्ठले अपील गरेकाछन् ।