नेपालगन्ज १० वैशाख : बाँकेमा हालसम्मकै सबैभन्दा बढि कोरोना संक्रमित फेला परेकाछन् ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार शुक्रबार बेलुका बाँकेमा कुल ४८८ संक्रमित फेला परेकाछन् । यो अहिलेसम्मकै सबैभन्दा बढि संक्रमित भेटिएको तथ्यांक हो ।
बाँकेमा रहेका तीनवटा प्रयोगशाला तथा सीमानाका जमुनाहमा गरिएको एन्टिजेन परीक्षणमा यी ब्यक्तिमा कोरोना पुष्टि भएको छ ।
कुल ७१९ नमुना परीक्षण गर्दा ४८८ जनामा संक्रमण पाइएको हो । जसमा ५० जनाको एन्टिजेन परीक्षण गर्दा १० जनामा कोरोना पुष्टि भएकोछ । भने ६६५ नमुना परीक्षण गर्दा ४७८ जना गरि २२० महिला र २६८ पुरुष गरि कुल ४८८ जना संक्रमित भेटिएका हुन् ।
केन्द्रका अनुसार भेरी अस्पताल नेपालगन्जको ल्याबमा गरिएको कुल २६९ पीसिआर परीक्षणमा २५० जना पोजेटिभ पाइएकाछन् । यस्तै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ल्याबमा २८६ जनाको स्वाब परीक्षण गर्दा १५५ जना तथा बागेश्वरी ल्याबमा ११० जनाको स्वाब परीक्षण गर्दा ७३ जनामा कोरोना पुष्टि भएको हो । यो दर ६८ प्रतिशत रहेकोछ ।
केन्द्रका अनुसार आज भेटिएका कुल संक्रमितमा बाँके जिल्ला बाहिरका ४४ महिला र ५६ पुरुष गरि एक सय जना रहेकाछन् । हालसम्म ५३ महिला र ११९ पुरुष गरि १७२ जनाको ज्यान गइसकेकोछ ।