डिसिसिएमसी बाँकेले माग्यो केन्द्र सरकारसंग मेडिकल टिम

प्रदेश र केन्द्रसरकारसंग १५ करोड रकम माग


डिसिसिएमसी बाँकेले माग्यो केन्द्र सरकारसंग मेडिकल टिम

File Photo

नेपालगन्ज ११ वैशाख : बाँके जिल्लामा कोभिड–१९ संक्रमितहरुको संख्या र त्यसमा पनि लक्षण भएका विरामीको संख्या अस्वभाविकरुपमा बढ्दै गएपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेले केन्द्र सरकारबाट मेडिकल टिम माग गरेकोछ ।

केन्द्रको बैठकले बाँकेमा बढ्दो कोरोना संक्रमण र संक्रमितको उपचारका लागि यस्तो निर्णय गर्दै केन्द्र सरकारसंग तत्काल मेडिकल टिम माग गरेको हो ।

लक्षण भएका र अस्पतालमा भर्ना भई उपचार गर्नुपर्ने कोभिड– १९ का विरामीहरुको बढ्दो चापका आधारमा भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज र कोहलपुर स्थित मेडिकल कलेजमा कार्यरत मौजुदा जनशक्तिबाट प्रभावकारि उपचार व्यवस्थापन गर्न गाह्रो परेकोले केही समयकालागि केन्द्रबाट चिकित्सकको टोली (मेडिकल टिम) उपलब्ध गराइदिन नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने भन्दै बैठकले निर्णय गरेकोछ ।

यसअघि नेपाल पत्रकार महसङ्घ बाँके शाखाको संयोजनमा शुक्रबार बसेको बैठकले बाँकेमा कोरोना संक्रमित विरामीको उपचारका लागि काठमाण्डौंबाट मेडिकल टिम ल्याएर विरामीको उपचार गराउनुपर्ने नत्र अवस्था झन दयनिय बन्ने भन्दै सार्वजनिक अपील जारी गरेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

यस्तै बैठकले संक्रमितहरुको संख्या दैनिकरुपमा उच्च दरमा बढ्दै गइरहेको र अक्सिजन सर्पोट तथा उपचार आवश्यक पर्ने विरामीहरुको भर्नाका लागि अस्पतालमा परेको अत्याधिक चापलाई मध्यनजर गर्दै कोभिड–१९ का विरामीहरुको उपचार सेवा दिइरहेका भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मौजुदा बेड संख्यामा थप गरि दुवै अस्पतालमा २/२ सय बेड संख्या पु¥याउने गरि आवश्यक व्यवस्थापन गर्न अनुरोध गर्ने निर्णय गरेकोछ ।

बैठकको तीन नम्बर निर्णयमा कोरोना रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनका लागि अक्सिजन सपोर्ट सहितको आइसोलेसन सेन्टरहरुको स्थापना गर्ने, अस्पतालहरुमा अक्सिजन सपोर्ट सहितका बेडहरु बृद्धि गर्न, आइसियु तथा भेन्टिलेटर संख्या थप गर्ने, उपचारका लागि आवश्यक पर्ने जनशक्ति एवंम उपचार तथा रोकथामका सामाग्री व्यवस्थापन गर्ने लगायतका कार्य गर्न स्रोत अभाव भएका कारण लुम्बिनी प्रदेश सरकारसंग ५ करोड र नेपाल सरकारसंग १० करोड रकम तत्काल व्यवस्थापनका लागि माग गरिएकोछ ।

यस्तै बैठकले भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मौजुदा बेड संख्या विस्तार गर्दा थप आवश्यक पर्ने मेडिकल इकुप्मेन्ट र भेन्टिलेटर सर्पोटका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेकोछ ।

कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि आवश्यक परेको बखत तत्काल खर्च गर्न सक्नेगरि जिल्लास्तरका सबै पालिकाहरुको योगदानमा एउटा कोष बनाई तुरुन्त व्यवस्थापन गर्नुपर्ने प्रकृतिका कामहरु जस्तै एम्बुलेन्स, शवबहान मर्मत, सोमा आवश्यक पर्ने ईन्धन, स्वाब संकलनदेखि शव ब्यवस्थापनसम्म आवश्यक पर्ने पीपीई लगायतका सम्पूर्ण स्वास्थ्य सुरक्षा सामग्री व्यवस्थापन लगायतका अर्पझट आइपर्ने खर्चहरु व्यवस्थापन गर्न नेपालगन्ज उपमहानगरपालिकासंग ३ लाख, कोहलपुर नगरपालिकासंग २ लाख र बाँकी सबै ६ वटै पालिकाबाट १/१ लाखका दरले जम्मा हुने ११ लाख जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको खातामा जम्मा गर्न सबै पालिकाहरुलाई अनुरोध गर्ने बैठकले निर्णय गरेकोछ ।

बाँकेको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमितको उपचार भइरहेकोछ । तर, दिनहुँ तीन सय भन्दा माथिका कोरोना संक्रमित भेटिरहँदा यी अस्पतालका सबै बेड भरिभराउछ । कुनै पनि अस्पतालमा थप कोरोना संक्रमितका विरामी राखेर उपचार गराउने ठाँउ छैन । दिनहुँ संक्रमित मृत्यु हुने आँकडा पनि बढिरहेकोछ ।