दुईदिनमै ४ लाख २४ हजार ३८६ रुपैयाँ संकलन
नेपालगन्ज ११ वैशाख : अक्सिजन अभावमा कोरोना संक्रमितलाई उपचार गराउन समस्या भइररहेको समाचार बाहिर आएसंगै यतिबेला भेरी अस्पताललाई आर्थिक सहयोग गर्नेको संख्या बढ्दै गएकोछ ।
तिव्ररुपमा फैलिएको कोरोना भाइरस संक्रमितको उपचारका लागि आवश्यक पर्ने अक्सिजन अभाव भएपछि भेरी अस्पताल नेपालगन्जले सास्ती भोग्दै आएको थियो । यस्तो खबर बाहिर आएपछि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४का वडाअध्यक्ष मोहम्मद सफिक बेहनाले शुक्रबार ब्यक्तिगत खर्चमा दुई लाख नगद प्रदान गरे । सो रकम प्रदान गरेको केही घण्टामै नेपालगन्जका युवा अब्दुल अजिज हल्वाईले नगद १० हजार रुपैयाँ प्रदान गरे ।
अक्सिजन अभाव भएको खबर बाहिरीएपछि यतिबेला सहयोगी ब्यक्तिहरुले नगद सहयोग गरिरहेकाछन् । भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालका अनुसार शुक्रबार र शनिबार गरि जम्मा ४ लाख २४ हजार ३८६ रुपैयाँ संकलन भएकोछ ।
जसमा दाङ निवासि माल्टी सप्लायर्सका प्रबन्धक संगम शाहलले शनिबार अक्सिजन खरिदका लागि एक लाख ११ हजार १११ रुपैयाँ नगद सहयोग गरेकाछन् ।
अध्यक्ष धितालका अनुसार शनिबार नै युवा संघ नेपाल बाँके जिल्ला कमिटी परिवार र युवा संघ बाँकेका अध्यक्ष तिलकबिर सुनार तथा नेकपा एमाले बाँकेका अध्यक्ष सुर्य ढकालले भेरी अस्पतालमा रहेको कोभिड वार्डमा अक्सिजन खरिदका लागि एक लाख ३२ हजार ७५० रुपैयाँ सहयोग प्रदान गरेकाछन् ।
अक्सिजन अभाव र बेड अभावमा भेरी अस्पतालमा रहेका कोरोना संक्रमित विरामी पीडित रहेको सेतोखरीले समाचार प्रकाशन समेत गरेको थियो ।
यतिबेला नेपालगन्जमा कोरोना भाइरस संक्रमण आक्रमकरुपमा समुदायस्तरमै फैलिएकाले कोरोना संक्रमितको ग्राफ दिनहुँ उकालो लागिरहेको छ भने मृतकको संख्या पनि उकालो लागिरहेकोछ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले नेपालगन्ज उपमहानगरपालिका भित्रलाई आगामी वैशाख १५ गतेसम्मका लागि लकडाउन गरेकोछ ।