नेपालगन्ज १२ वैशाख : जिल्ला प्रशासन कार्यालय बाँकेले भोली सोमबारदेखि बाँके जिल्लाभर पूर्णरुपमा लकडाउन गर्ने भएकोछ ।
तिव्ररुपमा फैलिएको कोरोना भाइरस संक्रमणको साङ्लो तोड्न यसअघि डिसिसिएमसीले यही वैशाख ९ गतेदेखि १५ गतेसम्मका लागि नेपालगन्ज उपमहानगरपालिकाको क्षेत्रमा लकडाउन लगाएको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आईतबार एक आदेश जारी गर्दै भोलीदेखि बाँके जिल्ला पूर्णरुपमा ठप्प हुने जनाएकाछन् ।
प्रजिअ गेलालद्वारा जारी आदेशमा भोली वैशाख १३ गते सोमबार राती १२ बजेदेखि वैशाख २० गते राती १२ बजेसम्मका लागि बाँके जिल्लाभर लकडाउन हुने जनाइएकोछ ।
सो अवधिभर अत्यावश्यक सेवा र सोका लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा जस्तै बैंक तथा वित्तीय संस्था, सवारी साधन, पसल व्यवसाय, हाटबजार सञ्चालन र अत्यावश्यक काम बाहेकको हिँडडुलमा समेत निषेध गर्ने गरि बाँकेका प्रजिअ गेलालद्वारा जारी आदेशमा उल्लेखछ ।
करोना संक्रमणको साङ्लो तोड्न यसअघि कोहलपुर नगरपालिकाले आज १२ गते आईतबार राती १२ बजेदेखि एक साताका लागि कोहलपुर क्षेत्रमा लकडाउन लगाउने निर्णय समेत गरेकोछ ।
बाँके प्रशासनले जारी गरेको आदेशको अवेज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पु¥याउने ब्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरिनेछ ।