स्वास्थ्य संकटकाल घोषणा गर्न चिकित्सक संघको माग


स्वास्थ्य संकटकाल घोषणा गर्न चिकित्सक संघको माग

नेपालगन्ज १३ वैशाख : कोरोना महामारीबाट बढी प्रभावित जिल्लामा स्वास्थ्य संकटकाल घोषणा गर्न नेपाल चिकित्सक संघले माग गरेकोछ ।

संघले सोमबार एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीको दोस्रो लहरमा संक्रमितको संख्या र मृत्यु बढ्दै गएकाले उपचार सहज बनाउन बढी संक्रमित भेटिएका जिल्लामा स्वास्थ्य संकटकाल घोषणा गर्न माग गरेको हो ।

‘सरकारी अस्पताल, मेडिकल कलेज तथा निजी अस्पतालसँग समन्वय गरी नियमित स्वास्थ्य परीक्षण र अति आवश्यक शल्यक्रियाबाहेकका सेवा बन्द गर्न र कोभिड–१९ उपचारमा अस्पताल प्रयोग गर्न’ संघका अध्यक्ष डाक्टर लोचन कार्की र महासचिव डाक्टर बद्री रिजालले हस्ताक्षरित उक्त विज्ञप्तिमा भनिएको छ ।

अस्पतालहरुमा अक्सिजन बेड र एचडीयू थप गर्न पनि संघले आग्रह गरेको छ । त्यस्तै निश्चित अस्पताललाई कोभिड अस्पताल घोषणा गरी संक्रमितको छुट्टै उपचारको व्यवस्था गर्न पनि माग गरेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

संघले चिकित्सकलाई सुरक्षाका उपाय अपनाएर आफू सुरक्षित रही आ–आफ्नो कार्यक्षेत्रमा जिम्मेवारीका साथ काम गर्न आगह गरेको छ । त्यस्तै कोभिड–१९ को नयाँ भेरियन्टको बारेमा आम नागरिकलाई सुसूचित गराउन पनि चिकित्सक र स्वास्थ्यकर्मीलाई संघले आग्रह गरेको छ ।

यस्तै कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा काम गरेका चिकित्सक तथा स्वास्थ्यकर्मीको स्वास्थ्यको जिम्मा सरकारले लिने र घोषण गरेको जोखिम भत्ता र बीमा प्रभावकारी रुपमा लागू गर्न पनि संघले माग गरेको छ ।