नेपालगन्ज १४ वैशाख : वैशाखको तस्रो हप्ताको मध्यमा बाँके जिल्लामा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९८ पुगेकोछ ।
बाँकेमा वैशाख १४ गते मङ्गलबार बिहानसम्मको सम्मको जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेको तथ्यांक अनुसार १९८ जनाको कोरोनाले ज्यान लएकोछ ।
केन्द्रको तथ्यांक अनुसार यसरी ज्यान गुमाउनेमा बाँके जिल्लाका मात्रै ९२ जनाले ज्यान गुमाएका छन् । भने बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका १०६ जनाले ज्यान गुमाएका छन् । यसरी बाँके बाहिरका बर्दिया, दाङ र सुर्खेतका सबैभन्दा बढि संक्रमितको ज्यान गएकोछ ।
केन्द्रका अनुसार आज मङ्गलबार बिहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्रबर –३ का २६ वर्षीय पुरुषको मृत्यु भएकोछ । वैशाख १२गते नेपालगन्ज नर्सिङ होमको प्रि–आईसोलेसनमा भर्ना भएका ती युवाको १३ गते आएको पीसिआर रिर्पोटमा कोरोना पोजेटिभ पाइएको थियो ।
कोरोना पोजेटिभ पाइएका ती पुरुषको नेपालगन्ज नर्सिङ होममा उपचारका क्रममा सोमबार राती ९ बजे मृत्यु भएको हो ।
यस्तै बाँके कोहलपुर नगरपालिका वडा नम्बर– १ निवासी ६० वर्षीया महिलाको मङ्गलबार बिहान २ः४० बजे भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको छ । वैशाख १० गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पीसिआर जाँच गराउँदा पोजेटिभ पाइएका ती महिला भेरी अस्पताल नेपालगन्जमा वैशाख ११ गते भर्ना गरि उपचाररत रहेकी थिइन् ।
यस्तै दाङ जिल्ला तुलसिपुर उपमहानगरपालिका वडा नम्बर –९ निवासी ७४ वर्षीया महिलाको मङ्गलबार विहान ६ः२० बजे नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । वैशाख १२ गते पीसिआर जाँच गराएकी ती महिलाको रिर्पोट पोजेटिभ आएपछि १३ गते नेपालगन्ज मेडिकल कलेजमा भर्ना भएकी थिइन् ।
बाँकेमा कोरोना भाइरस संक्रमण तिव्र गतिमा फैलिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले हिजो १३ गते सोमबार रातीदेखि आगामी वैशाख २० गते रातीसम्मका लागि लकडाउन समेत लगाएकोछ ।
बाँके प्रशासनले लकडाउन लगाएपनि जिल्लामा सर्वसाधरणको चहलपहल भने घटेको छैन । यसरी सर्वसाधरणको निस्फिक्रीरुपमा हिडँडुल गर्दा कोरोना भाइरस संक्रमणको ‘साङ्लो’ तोड्नुको साटो झन फैलिरहेको भन्दै सरोकारवालाले समेत चिन्ता ब्यक्त गरिरहेकाछन् ।