नेपालगन्ज १४ वैशाख : बाँकेमा ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका अनुसार भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, बागेश्वरी ल्याब र सीमानाकामा गरिएको पीसिआर र एन्टिजेन परीक्षणमा जम्मा ६३९ जनामा कोरोना पुष्टि भएको हो ।
डिसिसिएमसीका अनुसार भेरी अस्पतालमा ४७६ जनाको पीसिआर जाँच गरिएकोमा ३८३ जनालाई कोरोना पुष्टि भएकोछ । जुन जम्मा ८०.५ प्रतिशत हो । ३८३ मध्ये २९९ जना मात्रै बाँकेका संक्रमित हुन् । जसमध्ये नेपालगन्ज उपमहानगरपालिकाका २३६ जना र कोहलपुर नगरपालिकाका २५ जना रहेकाछन् ।
यस्तै बर्दियाको बारबर्दिया नगरपालिकाका २१ जनामा कोरोना पुष्टि भएकोछ । पोजेटिभ देखिएकामा २० वर्षदेखि ४० वर्ष उमेरका धेरै रहेकाछन् । २० वर्ष भन्दा कम उमेरका ५२ जना रहेको अस्पतालले जनाएकोछ । भेरीमा अहिले १९८ जना उपचाररत रहेकाछन् ।
डिसिसिएमसीका अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा १८८ जनाको नमुना जाँच गर्दा १४५ जना, बागेश्वरी ल्याबमा १६९ जनाको नमुना जाँच गर्दा १०९ जना र सीमानाका जमुनाहमा १६ जनामा एन्टिजेन परीक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएकोछ ।
केन्द्रले संकलित नमुनाको चाप र डाटा इन्ट्री सफ्टवेयरमा आएको समस्याका कारण एकदिन ढिलो रिपोर्ट सार्वजनिक गरिएको जनाएकोछ ।