कोरोना विरामीको उपचार गर्दागर्दै बाँकेका १०७ स्वास्थ्यकर्मी संक्रमित


कोरोना विरामीको उपचार गर्दागर्दै बाँकेका १०७ स्वास्थ्यकर्मी संक्रमित

नेपालगन्ज १५ वैशाखः कोरोना संक्रमित उपचारमा खटिएका स्वास्थ्यकर्मी नै संक्रमित भएपछि यतिबेला संक्रमितको उपचारमा जटिलता उत्पन्न भएकोछ ।

भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण बढेपछि उपचारमा जटिलता उत्पन्न भएको हो । दुवै अस्पतालका १०७ जना स्वास्थ्यकर्मी संक्रमित भएकाछन् ।

हालसम्म भेरी अस्पतालमा कार्यरत ७ जना चिकित्सकसहित स्टाफ नर्स, पारामेडिक्स, हेल्फर गरेर ६५ जनालाई कोरोना संक्रमण भइसकेको छ । भने नेपालगन्ज मेडिकल कलेजमा कार्यरत ८ जना चिकित्सकसहित ४२ जना स्टाफ नर्स लगायतलाई कोरोना संक्रमण भएको छ ।

भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर प्रकाश थापाका अनुसार भेरीको इमेरजेन्सीमा कार्यरत ७ जना चिकित्सकसहित कोभिड वार्ड लगायत अन्य वार्डमा कार्यरत कुल ६५ जना स्वास्थ्यकर्मीलाई अहिलेसम्म कोरोना संक्रमण भएको बताए ।

संक्रमित सबै इमेरजेन्सी कक्षका चिकित्सक अहिले होम आईसोलेशनमा बसिरहेका छन् । यस्तै स्टाफ नर्स, पारामेडिक्स, हेल्फरहरु केही अस्पतालमा भर्ना छन्, भने कोही होम आईसोलेशनमा बसिरहेका छन् ।

आफू संक्रमित भएर पनि केही स्टाफ नर्सले कोभिड वार्डका बिरामीको सेवा गरिरहेका छन् । भेरी अस्पतालमा अहिले २ सय बेड क्षमताको कोभिड वार्ड रहेको छ । तर, कोभिड वार्ड भरिएर पनि संक्रमितहरु अन्य वार्डमा बसिरहेका छन् । बुधबार बिहानसम्म अस्पतालमा २ सय १२ जना बिरामी अस्पतालमा रहेकाछन् ।

यसैगरि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले कोरोना पोजेटिभ भएका स्वास्थ्यकर्मी केहीलाई होम आईसोलेशन र केहीलाई अस्पतालमा भर्ना गरेर उपचार गरिरहेको छ । कोरोना संक्रमण भएर स्वास्थ्य अवस्था गम्भीर भएका स्वास्थ्यकर्मी अस्पतालमै भर्ना भएर उपचार गरिरहेको र सामान्य अवस्थाका स्वास्थ्यकर्मी होम आईसोलेशनमा बसिरहेको अस्पतालले जनाएकोछ ।

मेडिकल कलेजका कुल ४२ जना स्वास्थ्यकर्मी मध्ये ८ जना डाक्टर र बाँकी स्टाफ नर्स, हेल्फर लगायतका स्वास्थ्यकर्मी रहेकाछन् । मेडिकल कलेजमा अहिले ६० जना जति संक्रमित उपचाररत छन् ।

स्वास्थ्यकर्मीमै तीव्ररुपमा कोरोना संक्रमण बढेपछि अन्य संक्रमित बिरामीको गुणस्तरीय उपचार सेवामा जटिलता उत्पन्न भएको अस्पतालले जनाएका छन् ।