नेपालगन्जमा बुधवार धर्मगुरुहरुद्वारा विशेष पूजा र प्रार्थना गरिदैं

बिहीबार बेलुकी घर–घरमा दीप प्रज्वलन गरिने


नेपालगन्जमा बुधवार धर्मगुरुहरुद्वारा विशेष पूजा र प्रार्थना गरिदैं

File Photo

नेपालगन्ज २२ वैशाख : कोभिड– १९ का कारण भयावह बनेको बाँकेमा बुधबार (आज) सबै धर्मका धर्मगुरुहरुले आ–आफ्नो धार्मिक स्थलहरुमा एकसाथ विशेष पूजा अर्चना तथा प्रार्थना गर्ने भएका छन् ।

धर्मगुरुहरुको अन्तर धार्मिक तथा सामाजिक सद्भाव मञ्चको विशेष आह्वानमा एकै साथ पूजा र प्रार्थना गर्न लागिएको मंचका अध्यक्ष, बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीले बताए ।

‘बुधवार (आज) बेलुकी ४ः३० देखि ५ बजेसम्म सबै धर्मका धर्मगुरुहरुले आ–आफ्नो धार्मिक स्थलमा विशेष पूजा र प्रार्थना गर्नुहुनेछ’–अध्यक्ष योगीले जानकारी दिए ।
मन्दिर, गुम्वा, गुरुद्वारा, मस्जिद र चर्चमा एकै समयमा एकसाथ प्रार्थना÷ कामना हुनेछ ‘कोभिड–१९ महामारी चाँडै हटोस्, थप क्षति नहोस् ।

‘पूजा र प्रार्थना सकेपछि सबै धर्मका धर्मगुरुहरुलाई बागेश्वरी मन्दिरको पूर्वतर्फ रहेको पार्कमा आमन्त्रण गरेको छुँ’ अध्यक्ष योगीले भने ‘त्यहाँबाट हामी धर्मगुरुहरुले एकसाथ सम्पूर्ण सर्वसाधारणलाई अहिलेको अवस्थामा केही सन्देश दिन खोजेका छौं ।’

Kids Festival 2022
kanti aarogya hospital

कोरोना महामारीले नेपालगन्ज क्षेत्र बढी प्रभावित छ, सिंगो देश कोरोनाबाट प्रभावित छ । महामारी चाँडै हटोस् भन्ने कामना सहित यस्तो बेलामा कोरोना संक्रमित बिरामीहरुको शीघ्र स्वास्थ्य लाभको कामना, उनीहरुका आफन्तजन, उपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मी सहित महामारी नियन्त्रणमा खटिएका सुरक्षाकर्मी लगायत सबैको मनोबल बढाउन र दिवंगतहरुको आत्मालाई शान्ति मिलोस् भन्ने कामना गर्दै सबै धार्मिक स्थलमा एक साथ पूजा र प्रार्थना गर्न लागेको धर्मगुरुहरुले बताएका छन् ।

मञ्चका सदस्य मुस्लिम धर्मगुरु मौलाना जब्बार मंजरीले संकटको बेला सबै धर्मगुरुहरुले सर्बसाधारणको मनोबल बढाउन यो विशेष प्रार्थना र पूजा गर्न लागेको बताए ।

बिहीबार दीप प्रज्वलन

यसैगरी बिहिवार(भोली) बेलुकी नेपालगन्जबासीले दीप प्रज्वलन गर्ने भएका छन् । कोरोना महामारीको अन्त्य, कोरोना संक्रमित बिरामीहरुको शीघ्र स्वास्थ्य लाभको कामना, विरामीहरुका परिवार र उपचारमा दिनरात खटेका स्वास्थ्यकर्मीहरु सहित सबै आम नेपाली दाजुभाई दिदीबहिनीहरुको मनोबल बढाउन र दिवंगतहरुको आत्माको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गर्न लागिएको सामाजिक अभियन्ता एवम पत्रकार जयनारायण शाहले जानकारी दिए ।

उनले सेतोखरीसंग कुरागर्दै भने –‘आ–आफ्नै घरको मुलगेट, बरण्डा या घर परिसरमा दीयो, मैनबत्ती या बल्व बालेर कोरोना बिरुद्धको लडाईंमा सिंगो बाँके र सबै नेपाली एकजुट भएर दृढताका साथ उभिएका छौं भन्ने सन्देश प्रवाह गरौं । भन्दै नेपालगन्जबासीमाझ अपील समेत गरेकाछन् ।

यसले हामी सबैलाई सकारात्मक सन्देश दिनुका साथै सकारात्मक शक्ति प्रदान गर्नेभएकाले यो सकारात्मक कार्यमा सबैको साथ र एक्यबद्धताका लागि समेत शाहले आग्रह गरे ।