कोरोना भाईरस नियन्त्रण गर्न राप्तीसोनारीका सबै पक्षबीच समन्वय र सहकार्य गरिने


कोरोना भाईरस नियन्त्रण गर्न राप्तीसोनारीका सबै पक्षबीच समन्वय र सहकार्य गरिने

बाँके (अगैया) २६ वैशाख : राप्तीसोनारी गाउँपालिका क्षेत्रमा कोरोना भाईरस (कोभिड–१९) नियन्त्रणका लागि सबै पक्षबीच समन्वय तथा सहकार्य गरिने भएको छ ।

राप्तीसोनारी गाउँपालिका कार्यालयमा शनिबार बसेको सर्बपक्षिय र सर्बदलिय बैठकमा यस्तो निर्णय भएको हो ।

राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा बसेको बैठकमा उपस्थित विभिन्न क्षेत्रका अगुवाले गाउँपालिका क्षेत्रमा कोरोना महामारी फैलिन नदिन पर्याप्त मात्रामा जनचेतना फैलाउने, सर्बसाधारणलाई सुरक्षित भएर घरमा बस्न अनुरोध गर्नुपर्ने, गाउँपालिकाले ब्यवस्थित आइसोलेसन बनाउनुपर्ने, आवश्यक पर्ने स्वास्थ्य सामाग्री खरिद गर्नुपर्ने लगायत सुझाव दिए ।

उक्त बैठकमा स्थानीय सरकारको रुपमा रहेको गाउँपालिकाले कोरोना भाईरसलाई लक्षित गरेर पर्याप्त मात्रामा औषधी लगायत स्वास्थ्य सामाग्री खरिद गर्ने, स्थापना गरिएको आइसोलेसन सेन्टरलाई प्रभावकारी बनाउने, आवश्यकता अनुसार थप आइसोलेसन सेन्टर स्थापना गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

उनका अनुसार गाउँपालिकाले हालसम्म ४७ बेड क्षमताको आइसोलेसन सेन्टर स्थापना गरिसकेको छ । राप्तीसोनारीको वडा नम्बर २, ३ र ६ नम्बर वडामा उक्त आइसोलेसन सेन्टर सञ्चालनमा छन् । गाउँपालिकाले लगत्तै आइसोलेसनको क्षमता ५० बेड पुर्याउने तयारी भइरहेको पनि प्रमुख प्रशासकीय अधिकृत शाहीले बताए ।

बैठकलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष थारुले गाउँपालिकाले स्थापना गरेको आइसोलेसनलाई थप ब्यवस्थित गर्ने बताए । उनले हाल गाउँपालिकाले १५ वटा अक्सिजन सिलिण्डर खरिद गरिसकेको र थप ५० वटा अक्सिजन सिलिण्डर खरिद गर्ने जानकारी दिए ।

यसका साथै विभिन्न वडामा टोल तथा घरमै पुगेर गाउँपालिकाले सर्बसाधारणको स्वास्थ्य जाँचको ब्यवस्था मिलाउने बताए ।

कोरोना भाईरस नियन्त्रण र ब्यवस्थापनका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री खरिद गरिने उनको भनाई छ । उक्त बैठकमा राप्तीसोनारी क्षेत्रका जनप्रतिनिधी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी, रेडक्रस, विभिन्न क्षेत्रका सरोकारवाला निकाय लगायतको उपस्थिती रहेको थियो ।