बाँकेलाई ‘स्वास्थ्य आपतकाल’ घोषणा गर्न बाँके काँग्रेसको माग


बाँकेलाई ‘स्वास्थ्य आपतकाल’ घोषणा गर्न बाँके काँग्रेसको माग

नेपालगन्ज २७ वैशाखः नयाँ भेरियन्टसहित तिब्र रुपमा फैलिरहेको कोरोना महामारी नियन्त्रणका लागि बाँके जिल्लालाई स्वास्थ्य आपतकाल घोषणा गर्न नेपाली काँग्रेस बाँकेले माग गरेको छ ।

नेपाली काँग्रेस बाँकेका उपलब्ध पदाधिकारीको सोमबार बसेको बैठकले यस्तो माग गरेको हो ।

बाँकेमा कोरोना महामारी नियन्त्रण बाहिर जाँदा कोरोना संक्रमित बिरामीहरुले उपचारै नपाएर ज्यान गुमाउनु परिरहेको र अस्पतालले समेत थेग्न नसकिरहेको अवस्थामा सरकारले स्वास्थ्य आपतकाल तत्काल घोषणा गर्नुपर्ने काँग्रेसको निस्कर्ष छ ।

बाँकेमा फैलिएको कोरोना महामारीप्रति संघीय सरकार र प्रदेश सरकार गम्भिर नै नभएको काँग्रेसको ठहर छ । यस्तै काँग्रेस बाँकेले जिल्लाका सबै गाउँपालिका र नगरपालिकामा अक्सिजन, औषधी र दक्षजनशक्ति सहितको आइसोलेसन स्थापना गर्न अनुरोध पनि गरेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

अस्पतालमा अहिले पनि कोरोना संक्रमित बिरामीले सहज रुपमा उपचार पाउन नसकेको, अस्पतालमा भर्ना हुनका लागि घण्टौ समय कुर्नु परिरहेको र पहुँच नपुगेका बिरामीले ज्यानै गुमाउनु परेको गुनासो आइरहेको प्रति काँग्रेसले गम्भिर ध्यानाकर्षण भएको जनाउँदै बिरामीहरु कोहीपनि उपचार पाउनबाट बञ्चित नहुने बातावरण बनाइदिन सरकारलाई जोडदार रुपले आग्रह गरेको छ ।

कोरोना महामारीको निहुँमा अस्पतालमा ननकोभिड बिरामीले समेत उपचार नपाईरहेको गुनासो आएको भन्दै काँग्रेसले सबै स्वास्थ्य समस्या भएका बिरामीलाई सहज रुपले उपचारको ब्यवस्था मिलाउन अनुरोध गरेको छ ।

काँग्रेस बाँकेका सभापति किरण कोईरालाको सभापतित्वमा बसेको उक्त बैठकले कोरोना संक्रमितको निःशुल्क उपचार ब्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ । कोरोनाको पीसिआर जाँच प्रक्रिया सहज बनाउनुपर्ने, पीसिआर रिपोर्ट छिटो दिनुपर्ने र गाउँपालिका तथा नगरपालिका स्तरमै स्वाब संकलनको ब्यवस्थापन गर्न पनि कांग्रेसले माग गरेको छ ।

अस्पतालमा अक्सिजन, औषधी, स्वास्थ्यकर्मी र प्राविधिकको दिर्घकालिन ब्यवस्थापन गर्न माग गर्दै रेम्डिसिबिर औषधी, स्यानिटाइजर, मास्क तथा खाद्यान्न र तरकारीमा कालोबजारी भइरहेको जनगुनासोलाई सम्बोधन गर्न अनुगमनलाई तिब्रता दिन काँग्रेसले सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराएको छ ।

बाँकेमा फैलिएको कोरोना महामारी नियन्त्रणका लागि संघीय सरकारलाई दवाव सिर्जना गर्न नेपाली काँग्रेस केन्द्रिय समितिलाई समेत बैठकले अनुरोध गरेको छ । कोरोना संक्रमितको उपचार गरिरहेका भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज, आईसोलेसन सेन्टर, अक्सिजन उद्योग लगायतको स्थलगत अनुगमन तथा निरीक्षण गर्ने निर्णय गरेको छ ।

आफ्नो मातहतका सम्पुर्ण भातृ तथा शुभेच्छुक संस्था तथा जनप्रतिनिधीलाई कोभिडका बिरामीको उपचार र अन्य कार्यमा सहयोग गर्न, सचेतना अभियानमा सरिक हुन, कोरोना भाईरसबाट सुरक्षित भएर बस्न काँग्रेस बाँकेले निर्देशन पनि दिएको छ ।

बैठकले कोरोना भाईरसबाट संक्रमित बिरामीको स्वास्थ्य लाभको कामनाका साथै मृतकप्रति श्रद्धाञ्जली र परिवारप्रति समवेदना प्रकट गरेको छ ।

कोभिड सम्बन्धी स्वास्थ्य मापदण्ड पालना गरेर बसेको उक्त बैठकमा सभापति कोइरालाका साथै जिल्ला सचिवद्वय तप्त पौडेल र कपीलदेव शर्मा लगायतको उपस्थिती रहेको थियो ।