नेपालगन्ज २८ वैशाखः देशभर एकैदिन ५ हजार भन्दा बढी कोरोना संक्रमित निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको तथ्यांकका अनुसार पछिले २४ घण्टामा देशभर ५ हजार २२५ जनाले कोरोना जितेका हुन्।
योसँगै नेपालका कोरोना निको हुनेको संख्या ३ लाख १२ हजार १९ जना पुगेको छ । यो दर कुल संक्रमितको ७५ दशमलब ५ प्रतिशत हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २२५ जना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार योसंगै नेपालमा हालसम्म ४ हजार ८४ जनाको मृत्यु भएको छ । हिजो (सोमबार) देशभर १३९ संक्रमितको मृत्यु भएको थियो ।
मन्त्रालयका अनुसार नेपाली सेनाले गरेको शव व्यवस्थापनको रिपोर्टका आधारमा मृतकको संख्या २४ घण्टामा बढी देखिएको हो ।
पछिल्लो समय नेपालमा कोरोना संक्रमित बढेसँगै मृत्यु संख्या पनि बढ्न थालेको छ । दोस्रो लहरमा सिकिस्त बिरामीको संख्या बढ्दा मृत्युदर एक दिनमा सय भन्दा बढी संख्या हुन थालेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर गरिएको परीक्षणमा थप ९ हजार ४८३ जनामा कोरोना पुष्टि भएकोछ ।
मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २० हजार ५९६ जनाको पीसीआर विधि र ७२० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा थप ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमित थप भएसँगै देशभर ९७ हजार ८ जना सक्रिय संक्रमित रहेका छन् । ४४८ जना व्यक्ति क्वारेन्टिनमा छन् ।