नेपालगन्ज २८ वैशाख : नयाँ भेरियन्टसहित तिब्र रुपमा फैलिरहेको कोरोना महामारी नियन्त्रणका लागि बाँके जिल्लालाई स्वास्थ्य आपतकाल घोषणा गर्न नेपाली काँग्रेस बाँकेले माग गरेको छ ।
नेपाली काँग्रेस बाँकेले मङ्गलबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन बाँकेका संयोजक एबम प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउदै यस्तो माग गरेको हो । बाँकेमा कोरोना महामारी नियन्त्रण बाहिर जाँदा कोरोना संक्रमित बिरामीहरुले उपचारै नपाएर ज्यान गुमाउनु परिरहेको र अस्पतालले समेत थेग्न नसकिरहेको अवस्थामा सरकारले स्वास्थ्य आपतकाल तत्काल घोषणा गर्नुपर्ने नेपाली काँग्रेस बाँकेको निस्कर्ष छ ।
बाँकेमा फैलिएको कोरोना महामारीप्रति संघीय सरकार र प्रदेश सरकार गम्भीर नै नभएको काँग्रेसको ठहर छ । अक्सिजनले धान्न नसकेको भन्दै अस्पतालहरुले बिरामीलाई भर्ना समेत नलिएको भन्ने समाचारहरु सुन्नमा आएकोले स्वास्थ्य उपचारबाट बञ्चित नगर्न र सबै नागरिकका लागि उपचारको सम्पुर्ण प्रबन्ध मिलाउन नेपाली काँग्रेस बाँकेले जोडदार माग गरेकोछ ।
काँग्रेस बाँकेद्वारा बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ ‘यस महामारीमा चिकित्सक, स्टाफ नर्स, स्वास्थ्य प्राविधिक तथा स्वास्थ्यकर्मीहरु दिनरात उपचार कार्यमा खटिरहेकोप्रति नेपाली काँग्रेस हार्दिक आभार प्रकट गर्दछ । यद्यपी, अस्पतालमा कतिपय कोरोना संक्रमित बिरामीहरुले सहज रुपमा उपचार सेवा पाउन नसकेको, भर्ना हुनका लागि घण्टौं समयसम्म प्रतिक्षा गर्नु परिरहेको, बिरामी भर्नामा पक्षपात हुने गरेको, पहुँच नपुगेका र अस्पतालमा समयमै भर्ना हुन नपाएका बिरामीले ज्यानै गुमाउनु परिरहेको जनगुनासो ब्यापक रुपमा आइरहेकोप्रति नेपाली काँग्रेस बाँकेको गम्भीर ध्यानाकर्षण भएको छ ।’
महामारीमा कुनैपनि बिरामीलाई उपचारबाट बञ्चित नगर्न र उपचारका लागि सहज बातावरण बनाईदिन काँग्रेस बाँकेले आग्रह गर्दै कोरोना महामारीको निहुँमा नेपालगन्जका अस्पतालमा नन–कोभिड बिरामीले समेत उपचार नपाईरहेको गुनासो आइरहेको अवस्थामा सबै स्वास्थ्य समस्या भएका बिरामीलाई सहज रुपले उपचारको ब्यवस्था मिलाईदिन अनुरोध गरेको छ ।
ध्यानाकर्षण पत्र बुझाउन जिल्ला प्रशासन कार्यालय बाँके पुगेको काँग्रेस बाँकेकी सभापति किरण कोइराला नेतृत्व टोलीले अस्पतालहरुमा अक्सिजन, औषधी, स्वास्थ्यकर्मी र प्राविधिकको दीर्घकालिन ब्यवस्थापन गर्न तथा रेम्डिसिबिर औषधी, स्यानिटाइजर, मास्क तथा खाद्यान्न र तरकारीमा कालोबजारी नियन्त्रण गर्न आग्रह गरेकोछ ।
कोरोना संक्रमित बिरामीको निःशुल्क उपचार ब्यवस्था मिलाउनुका साथै पीसिआर परीक्षणको दायरा बढाई सहज र छिटो छरितो बनाउन तथा स्थानीय तह(पालिकास्तर)सम्म स्वाब संकलनको ब्यवस्था चाँडो मिलाउन काँग्रेस बाँकेकी सभापति कोइरालाले माग गरिन । उनले सबै स्थानीय तहमा अक्सिजन, औषधी र दक्षजनशक्ति सहितको आइसोलेसन स्थापना गर्ने कामलाई यथाशिघ्र अघि बढाउन प्रजिअ शिवराम गेलाललाई आग्रह गरिन् ।
यस्तै काँग्रेस बाँकेले जिल्लाका सबै गाउँपालिका र नगरपालिकामा अक्सिजन, औषधी र दक्षजनशक्ति सहितको आइसोलेसन स्थापना गर्न अनुरोध पनि गरेको छ ।
अस्पतालमा अहिले पनि कोरोना संक्रमित बिरामीले सहज रुपमा उपचार पाउन नसकेको, अस्पतालमा भर्ना हुनका लागि घण्टौ समय कुर्नु परिरहेको र पहुँच नपुगेका बिरामीले ज्यानै गुमाउनु परेको गुनासो आइरहेको प्रति काँग्रेसले गम्भिर ध्यानाकर्षण भएको जनाउँदै बिरामीहरु कोहीपनि उपचार पाउनबाट बञ्चित नहुने बातावरण बनाइदिन सरकारलाई जोडदार रुपले आग्रह गरेको छ । कोरोना महामारीको निहुँमा अस्पतालमा ननकोभिड बिरामीले समेत उपचार नपाईरहेको गुनासो आएको भन्दै काँग्रेसले सबै स्वास्थ्य समस्या भएका बिरामीलाई सहज रुपले उपचारको ब्यवस्था मिलाउन अनुरोध गरेको छ ।
यसअघि सोमबार काँग्रेस बाँकेका सभापति किरण कोईरालाको सभापतित्वमा बसेको बैठकले कोरोना संक्रमितको निःशुल्क उपचार ब्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ ।
आफ्नो मातहतका सम्पुर्ण भातृ तथा शुभेच्छुक संस्था तथा जनप्रतिनिधीलाई कोभिडका बिरामीको उपचार र अन्य कार्यमा सहयोग गर्न, सचेतना अभियानमा सरिक हुन, कोरोना भाईरसबाट सुरक्षित भएर बस्न काँग्रेस बाँकेले उक्त बैठकबाट निर्देशन दिइसकेकोछ ।
सो क्रममा जिल्ला सभापति किरण कोइरालाका साथै सचिव तप्त पौडेल, क्षेत्रीय सभापति रमेश गुप्ता, महासमिति सदस्य मेघराज ओली, जिल्ला कार्यसमिति सदस्य सुधान्सु कोईराला लगायत उपस्थित भएका थिए ।