File Photo
नेपालगन्ज २८ वैशाख : कोरोना भाइरस संक्रमणको दोस्रो लहरले यतिबेला नेपाल पूर्णरुपमा जकटिएकोछ । देशमै सबैभन्दा बढि बाँकेमा कोरोना संक्रमणको अवस्था भयाबह बनेकोछ ।
कोरोना भाइरस संक्रमणको यो अवस्था आउनुमा सरकार नै मुख्य जिम्मेवार रहेको छ । कोरोना संक्रमणको पहिलो लहर मत्थर भइरहँदा दोस्रो लहरले यति भयावह रुप लिएर आउने धेरैको आँकलन नै थिएन । तर, त्यही समयमा सरकार र जिम्मेवार राजनीतिक दलबाटै हजारौँको भेला, जुलुस र सभा भए । त्यसमा स्वयम् प्रधानमन्त्री ओली सबैभन्दा अगाडि देखिए । कोरोना नियन्त्रणको योजना बनाउनुभन्दा शक्ति प्रदर्शनमा प्रधानमन्त्रीसहित सत्तारुढ दल सक्रिय भयो । जसका कारण यतिबेला कोरोना संक्रमण शहरदेखि गाउँ अनि घरघर पुगेकोछ ।
प्रधानमन्त्री ओली तीन साताअघिसम्म सयौँको उपस्थितिमा विभिन्न कार्यक्रममा सहभागी भएका थिए । त्यो कोरोना संक्रमणको दोस्रो लहर आउनुमा जिम्मेवार भएको विज्ञहरुको बुझाइ छ ।
विज्ञहरुका अनुसार संक्रमण सहर हुँदै गाउँ, घर–घरमा पुगिसकेको छ । यो निकै जटिल र चुनौतीपूर्ण अवस्था हो । पछिल्लो समय ज्यान गुमाउनेको संख्या हेर्ने हो भने ५० प्रतिशत युवावस्थाका छन् । जुन निकै दुःखद हो ।
कोरोना कहरकैबीच यतिबेला नेपालका अस्पतालमा बेडको चरम अभाव देखिएको छ । देशकै ठूलो मानिएको त्रिवि शिक्षण अस्पतालमा बेड अभावमा पेटीमै राखेर उपचार भइरहेको छ । अक्सिजन सिलिण्डरको हाहाकार छ । तर, सरकारले समयमै अपनाउनुपर्ने नीति अख्तियार नगर्दा सरकारी अस्पतालको बेहाल र निजी अस्पताल मालामाल भएको नागरिकको गुनासो छ ।
तीन करोड बढी जनसंख्या भएको नेपालमा सरकारी आईसीयू बेड १४ सय २३ मात्र छन् । भेन्टिलेटरको संख्या ५८३ छ । तर अधिकांश चल्ने अवस्थामै छैनन् । सञ्चालन गर्ने जनशक्तिको अभाव समेत छ ।
नेपालमा दोस्रो लहरको संक्रमणमा संक्रमित हुने र ज्यान गुमाउनेमा युवा अधिक पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार यसरी ज्यान गुमाउने अधिकांश ३० देखि ४५ उमेर समूहका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ‘डबल म्युटेन्ट’ भाइरसका कारण मृत्यु हुनेमा ३० देखि ४५ वर्ष उमेर समूहका व्यक्तिको संख्या बढी छ ।
अझ कोरोना संक्रमणकै यो दौडमा आज (मङ्गलबार) देशभर २२५ जना संक्रमितको मृत्यु भइसकेकोछ । यो संख्या हालसम्मकै उच्च हो ।