File Photo
नेपालगन्ज २९ वैशाख : नर्सको मासिक तलब कति होला ? तपाई हातका औंला गन्दै भन्दिन सक्नुहुन्छ यति रुपैयाँ मासिक तलब हो । तर, तपाईले सोँचेको भन्दा नर्सको तलब फरक मात्र छैन चार गुणा अन्तर छ । अझ नर्सले पाउने सेवा सुविधा र तलब त समयमै पाउँदैनन् । यो समस्या नेपालका प्रायजसो सबै क्षेत्रमा कार्यररत नर्सहरुको साझा समस्या हो ।
नेपालका ठूला भनिएका अस्पतालमा नर्सको तलब चार गुणा फरक हुने गरेको पाइएको छ । चौधरी ग्रुपद्वारा सञ्चालित नर्भिक इन्टरनेशनल हस्पिटलमा नर्सहरु बीचको तलबमा चारगुणा फरक पाइएको हो ।
गत वर्ष नर्सलाई न्यून तलबमा कज्याएको सञ्चारमाध्यममा खुलासा भएपछि अध्यक्ष वसन्त चौधरीले नर्सको तलब खुलाएका थिए । नर्भिकले शुरुवाती तलब ९ हजार १ सय १८ रुपैंया दिने गरेको कुरा गत वर्ष सञ्चारमाध्यमबाट खुलासा भएपछि अध्यक्ष चौधरीले यसको खण्डन समेत गरेका थिए ।
उक्त समाचारको खण्डन गर्दै अध्यक्ष चौधरीले नर्भिकले नर्सहरूको तालिम र अनुभवको आधारमा १५ हजार देखि ६० हजार रुपियाँसम्म तलब र श्रम ऐनअनुसार अन्य सुविधा दिँदै आएको बताएका थिए । उनले यो कुरा सामाजिक सञ्जालमा समेत भनेका थिए ।
देशभरीमै सबैभन्दा धेरै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत नर्सको तलब रहेको छ । यस प्रतिष्ठानमा कार्यरत नर्सको शुरुवाती तलब ४५ हजार छ । यस्तै काठमाडौंमा सबैभन्दा धेरै तलब दिने त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, गंगालाल हृदय अस्पताल, वीर अस्पताल र मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर सेन्टर रहेको छ । यी अस्पतालमा नर्सको शुरुवाती तलब ३० हजार रहेको छ । सेवा सुविधा र भत्ता समेत गरि झण्डै ५० हजार हाराहारिमा पुग्छ ।
हाल नेपालमा नर्सको संख्या मात्र ६० हजार बढि रहेकोछ । कोरोना भाइरस संक्रमणको दोस्रो लहर चलिरहँदा देशभरका कोभिड–१९ वार्डमा नर्सहरु संक्रमित हुदैँ संक्रमितको उपचारमा अहोरात्र खटिरहेकाछन् । तर, सेवासंगै उचित तलब नपाउनु, नियमित नपाउनु, अस्पताल, विरामी र विरामीका आफन्त तथा घरमुलीले नर्सप्रति गर्ने व्यवहारको जति विरोध गरेपनि कम छ ।