नेपालमा सक्रिय संक्रमित संख्या एक लाख नाघ्यो


नेपालमा सक्रिय संक्रमित संख्या एक लाख नाघ्यो

नेपालगन्ज २९ वैशाख : नेपालमा पहिलो पटक सक्रिय कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९३०५ संक्रमित थपिएसँगै नेपालमा सक्रिय कोरोनाका बिरामी १ लाख १ हजार ६ सय ३४ पुगेका हुन् ।
पछिल्लो दुई सातामा नै नेपालमा ७० हजारभन्दा बढी संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २० हजार ३ सय ६२ पीसीआर र ४ सय २४ एन्टिजेन परीक्षण गर्दा थप ९ हजार ३ सय ५ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार ७८६ पीसीआर र एन्टिजेन परीक्षणका क्रममा बुधबार थप ९३०५ जनामा कोरोना संक्रमण देखिएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

देशका ८७ वटा प्रयोगशालाबाट २०३६२ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो । सीमानाकाबाट ४२४ जनाको एन्टिजेन परीक्षण गरिएको हो ।

यस्तै नेपाली सेनाद्वारा गरिएको शव व्यवस्थापनको तथ्याङ्कको आधारमा कोभिड– १९ संक्रमणबाट पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको भएको छ । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार २५२ पुगेको छ । यसअघि हिजो मङ्गलबार मात्रै २२५ जनाको ज्यान गएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ४ हजार ४ सय ४४ जना कोरोना संक्रमित निको भएकाछन् । यो सँगै हालसम्म देशभर ३ लाख १६ हजार ४ सय ६८ जना संक्रमण मुक्त भएका छन् । यो कुल संक्रमितको ७४.९ प्रतिशत हो ।

हाल देशभरका संस्थागत आइसोलेसनमा ७ हजार २९१ र होम आइसोलेसनमा ९४ हजार ३ सय छन् । आज देशभर ५१७ जना व्यक्ति क्वारेन्टिनमा छन् ।