यता आमाको चितामा दागबत्तीको तयारी हुँदैथियो, उताबाट आयो छोराको मृत्युको खबर


यता आमाको चितामा दागबत्तीको तयारी हुँदैथियो, उताबाट आयो छोराको मृत्युको खबर

नेपालगन्ज ३१ वैशाख : बिहीबार दिउँसो सवा २ बजेको थियो । कोरोना संक्रमणबाट ६७ वर्षीया आमा निलमदेवीको मृत्यु भएपछि कान्छा छोरा ललित शव अन्त्येष्टिका लागि सिंघिया घाटमा थिए । साथमा केही आफन्त मलामी घाटमा जम्मा भएका थिए ।

उनीहरू चिता तयार पारिरहेका थिए । शव व्यवस्थापनको टोलीले चितामाथि शव राखेपछि दागबत्ती दिने बेला हुँदैथियो । ललितको हातबाट आमाको शवमा दागबत्ती दिन नपाउँदै जेठो छोरा विनितको मृत्युको खबर आइपुग्यो ।

यो विराटनगरमा भएको घटना हो । कोरोना कहरले गाँजेको बेगवानी परिवारमा आमाको शव नजल्दै अर्को चिता तयार पार्नुपर्ने अवस्था आएको थियो । आमाछोरा एकैपटक कोरोना संक्रमण भएर विराटनगर अस्पतालमा भर्ना भएका थिए ।

उनीहरू विराटनगर–३ का हुन् । भेन्टिलेटरमा उपचाररत् आमा निलमदेवी बेगवानीको बुधबार साँझ मृत्यु भएको थियो । विराटनगर अस्पतालका अनुसार वैशाख १६ गते कोरोना सङ्क्रमण पुष्टि भएकी आमाको उपचारका क्रममा बुधबार साँझ ७ः३० बजे मृत्यु भएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

अस्पतालका अनुसार बिहीबार बिहान ११ बजे परिवारलाई शव बुझाएइको थियो । आमाको शव आफन्तले बुझिरहँदा ४५ वर्षीय जेठा छोरा विनित भेन्टिलेटरमा मृत्युसँग संघर्षरत् थिए ।

रीतिथिति पूरा गरेर दाहसंस्कारका लागि दिउँसो घाटमा चिता तयार पारिरहँदा यता जेठा छोरा विनितको मृत्युको खबर आएको आफन्तले बताए । आफन्त हिरा जैनका अनुसार चिता तयार पारिरहँदा अस्पतालबाट फोन आयो, कोही आफन्तलाई नै । अस्पतालबाट फोन गर्नेले तुरुन्तै आउन भनिरहेका थिए ।

अस्पतालका सूचना अधिकृत केदार पोखरेलका अनुसार विनितको बिहीबार दिउँसो २ बजे मृत्यु भएको थियो । ‘आमाको चितामा आगो लगाउन नपाउँदै दाजुको मृत्युको खबर पाउँदा ललितलाई कति दुःख प¥यो–प¥यो त्यो त भन्न सकिन्न,’ हिराले भने, ‘कोरोनाले एकै परिवारमा अप्रिय घटना भएको देख्दा एकदमै मन कुँडिएको छ ।’
बेगवानी परिवारका चार भाइ छोरामध्ये विनित र कान्छो छोरा ललित विराटनगर बस्थे। साइँलो कलकत्ता र माइलो काठमाडौं बस्थे । विनित सुनचाँदी व्यवसाय गर्थे ।

‘हामी मलामी गएका थियौं, घाटमा चिता जलाउन नपाउँदै अस्पतालबाट विनितबाबुको मृत्युको खबर आउँदा शोकमाथि शोक थपियो,’ हिराले भने ।
ललितले आमाको शवमा दागबत्ती दिए । यता आमाको शव जल्दैथियो, उता जेठा छोराको शव बुझ्ने क्रममा थियो ।

‘विनितको दाहसंस्कार बिहीबार साँझ ६ बजे गरिएको छ,’ हिराले भने, ‘परिवारमा ठूलो दुःख परेको छ ।’ यता, श्रीमती र जेठा छोराको मृत्यु भएपछि श्रीमान–बुवा विमल बेगवानी विराटनगर अस्पताल नै भर्ना भएका छन् । हिराका अनुसार उनलाई जेठा छोरा विनित बिते भन्ने थाहा छैन ।

‘घाटमा पुगेपछि उहाँको प्रेसर तलमाथि हुन थाल्यो, उहाँलाई अस्पताल भर्ना गरियो,’ हिराले भने ।

उनका अनुसार बेगवानी परिवारमा विमल, निलम, जेठा छोरा विनित र कान्छी बुहारी एकैपटक कोभिड संक्रमण भएर अस्पताल भर्ना भएका थिए । ससुरा–बुहारी कोरोना जितेर फर्किइसकेका थिए । आमा–छोरा भने भेन्टिलेटरमा जीवन–मरणसँग संघर्ष गरिरहेका थिए ।

आमा निलमदेवी मधुमेहबाट पीडित थिइन् । विनित मिर्गौलाका बिरामी थिए । उनको केही वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । यसअघि विराटनगर–३ पीपलचोकमै पनि आमाछोराको पालैपालो मृत्यु भएको थियो । –सेतोपाटीबाट