नेपालगन्ज ३१ वैशाख : नेपालमा शुक्रबार एकैदिन ६ हजारभन्दा बढी कोरोना संक्रमित निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १३५ जना कोरोना संक्रमित निको भएका हुन् ।
योसँगै नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या ३ लाख २७ हजार ६५३ जना पुगेको छ । यो दर कुल संक्रमितको ७४ दशमलब ५ प्रतिशत हो ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप २०३ जना संक्रमितको मृत्यु भएको छ । योसंगै नेपालमा हालसम्म ४ हजार ६६९ जनाको मृत्यु भएको छ । यसअघि हिजो (बिहीबार) मात्रै देशभर २१४ जनाको मृत्यु भएको थियो ।
यसैबीच पछिल्लो २४ घण्टामा देशभर नेपालमा आठ हजार ५२० जना व्यक्तिमा कोरोना संक्रमित पुष्टि भएका छन् ।
मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २० हजार ९ सय ४८ जनाको पीसीआर र ५ सय ३० जनाको एन्टीजेन परीक्षण गर्दा आठ हजार ५ सय २९ जना संक्रमित पुष्टि भएका हुन् । पीसिआर परीक्षणबाट आठ हजार ४ सय ६७ र एन्टीजेन परीक्षणबाट ५३ संक्रमित पुष्टि भएका छन् ।
संक्रमितको कुल संख्या ४ लाख ३९ हजार ६५८ जना पुगेको छ । भने देशभर सक्रिय संक्रमितको संख्या एक लाख ७ हजार ३ सय ३६ पुगेको छ । जसमध्ये देशभर ५ सय १६ जना व्यक्ति क्वारेन्टिनमा छन् ।
मन्त्रालयका अनुसार देशभर हाल १७ सय बढी कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन् । एक हजार ३ सय ३४ आइसीयू र ३७१ भेन्टिलेटरमा गरी १ हजार ७ सय ५ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ । यसअघि बिहीबार १ हजार ७ सय ६१ संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए ।