नेपालगन्ज १ जेठ : कोरोना भाइरस संक्रमित पत्रकारको निधनप्रति नेपाल पत्रकार महासंघ बाँकेले शोक ब्यक्त गरेकोछ । कोरोना भाइरस संक्रमणबाट नेपालगन्जका पत्रकार रईस साईको शनिबार निधन भएको हो ।
महासंघ सचिव कमल डाँगीद्वारा जारी शोक वक्तब्यमा पत्रकार साईको निधनप्रति गहिरो दुःख ब्यक्त गरिएकोछ । ‘साईप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामाना सहित शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस्’ शोक वक्तब्यमा भनिएकोछ ।
नेपालगन्ज उपमहमहानगरपालिका वडा नम्बर– ८ निवासी ४४ वर्षीय साईको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुुरमा शनिबार विहान ८ बजे निधन भएको हो ।
कोभिड पुष्टि भएपछि उनी वैशाख १८ गते अस्पताल भर्ना भएका थिए । खबर नेपालगन्ज दैनिकका प्रकाशक साई लामो समयसम्म समय अधिकार दैनिकमा पनि आबद्ध थिए । साई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा प्रशासन शाखाका कर्मचारी समेत हुन् ।
साईका श्रीमती, एक छोरा र एक छोरी छन् । पत्रकार साई नेपाल पत्रकार महासंघ बाँकेका साधारण सदस्य तथा अवधी पत्रकार संघ नेपाल, जिल्ला शाखा बाँकेका सहसचिव हुन् ।
महासंघले पछिल्लो समय कोरोना संक्रमणको दर बढिरहेकाले संक्रमणको चुनौतीपूर्ण अवस्थामा सम्भावित जोखिमको ख्याल गरि स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै पेशागत कार्ममा जुट्न सबै पत्रकारलाई अपील समेत गरेकोछ ।
यसैबीच नेपाल प्रेस युनियन बाँकेले पत्रकार साईको निधनप्रति गहिरो समबेदना प्रकट गरेकोछ । युनियन बाँकेका सचिव विजय मल्लद्वारा जारी गरिएको शोक वक्तब्यमा पत्रकार साईको निधनले युनियन बाँके स्तब्ध भएको बताइएकोछ ।
युनियन सचिव मल्लले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवाजनप्रति धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन भनि समवेदना प्रकट गरिएकोछ ।