नेपालगन्जको कुन वडामा कुन डाक्टरलाई फोन गर्ने (नामावलीसहित)
नेपालगन्ज १ जेठ : नेपालगन्ज उप–महानगरपालिकाले नेपाल चिकित्सक संघ भेरीको सहकार्यमा हरेक वडामा होम आईसोलेसनमा बसेका कोभिड–१९ संक्रमितहरुलाई विशेषज्ञ सेवा उपलब्ध गराउने भएको छ ।
नेपालगन्ज उप–महानगरपालिकाको अनुरोधका आधारमा संघले नगरका २३ वटै वडाका लागि चिकित्सकलाई जिम्मेवारी दिएको छ ।
उपमहानगरपालिकाको वडामा रहेका स्वास्थ्य फोकलपर्सनहरुले सुरुमा होम आईसोलेसनमा बसेका संक्रमितहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिनेछन् ।
आवश्यकता अनुसार उनीहरुको विरामीको बारेमा वडामा जिम्मेवारी पाएका चिकित्सकहरुसँग सम्पर्क गर्ने छन् । यसका लागि शनिबार चिकित्सक र स्वास्थ्य फोकलपर्सनहरुबीच अन्तरक्रियात्मक छलफल भएको छ ।
कार्यक्रममा नगर प्रमुख डाक्टर धवलशम्शेर राणाले वडाका स्वास्थ्यकर्मीहरुलाई नियमित चिकित्सकसँग सहकार्य गर्न आग्रह गर्दै सहयोगका लागि चिकित्सक संघलाई धन्यवाद ज्ञापन गरे । यसबारे समुदायस्तरमा स्वास्थ्य सेवा उपलब्ध गराउन सहज हुने बताए ।
सो छलफलमा उपमहानगरपालिकाद्वारा सञ्चालित आईसोलेसन, हेल्थडेस्कलाई पनि प्रभावकारी बनाउन बैठकमा छलफल भएको थियो ।
डाक्टर राजन पाण्डेले जनस्वास्थ्यका प्रोटोकल अनुसार महामारी नियन्त्रणमा जुट्न स्वास्थ्यकर्मीहरुलाई अनुरोध गरे । सामाजिक सञ्जालका सबै सूचनालाई सत्य नमान्न भन्दै उनले संक्रमणदर घटाउन र मृत्युदर घटाउन लाग्नुपर्ने बताए ।
नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले नगरमा महामारी रोकथाम र नियन्त्रणको अभियानलाई थप व्यवस्थित बनाउन चिकित्सक र स्वास्थ्यकर्मीबीचको समन्वव बैठक गरिएको बताए ।
छलफलमा चिकित्सक संघ भेरीका अध्यक्ष डाक्टर विनोद कर्ण, डाक्टर रोमा बोहरा, नेपालगन्ज उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजाल लगायतको सहभागिता थियो ।
यसैबीच, नेपाल चिकित्सक संघ, नेपालगन्जले होम आइसोलेसनमा बसेका संक्रमितलाई परामर्श दिन चिकित्सक परिचालन गरेको छ । संघका अध्यक्ष डाक्टर विनोद कर्णका अनुसार नेपालगन्जका २३ वटै वडामा परामर्शका लागि चिकित्सक तोकिएको छ ।
संघले वडा नम्बर–१ मा डाक्टर विजयप्रसाद प्रधान, २ नम्बरमा डाक्टर आशिम किदवाई, ३ नम्बरमा डाक्टर अल्तवान राही, ४ नम्बरमा मधु अर्याल, ५ नम्बरमा शंकर केसी, ६ नम्बर डाक्टर विष्णु थापा, ७ नम्बरमा अच्युत ज्ञवाली/सुभाष योगी, ८ नम्बरमा डाक्टर विनोद कर्ण, ९ नम्बरमा डाक्टर निर्मल शाक्य र १० नम्बरमा डाक्टर विपिन आचार्यलाई तोकेको हो ।
यसै गरी वडा नम्बर ११ मा डाक्टर पियुस कनोडिया, १२ नम्बरमा डाक्टर संकेत रिसाल, १३ नम्बरमा डाक्टर शिवम खेतान, १४ नम्बरमा डाक्टर राजेशकुमार मण्डल, १५ नम्बरमा डाक्टर विनोद डंगोल, १६ नम्बरमा रजनी केसी शाह, १७ नम्बरमा डाक्टर पारस श्रेष्ठ, १८ नम्बरमा डाक्टर राजन पाण्डे, १९ नम्बरमा डाक्टर कुलदीप गोइत, २० नम्बरमा डाक्टर अनुप रनोत्रा, २१ नम्बरमा डाक्टर रोमा बोरा, २२ नम्बरमा डाक्टर सकिल अहमद, २३ नम्बरमा डाक्टर खगेन्द्रजंग शाहलाई खटाएको छ ।
संघले वडामा खटाइएका चिकित्सकलाई फोनबाट नै परामर्श लिन सक्ने जनाएको छ । त्यस अनुसार नै सबै चिकित्सकको मोबाइल नम्बर उपलब्ध गराइएको छ ।