सीसीएमसी बैठक : स्वास्थ्य संकटकाल लगाइएन

प्रधानमन्त्री ओलीको निर्देशन ‘प्रक्रियामा अल्झिएर कसैको ज्यान नजाओस्’


सीसीएमसी बैठक : स्वास्थ्य संकटकाल लगाइएन

नेपालगन्ज २ जेठ : कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले अक्सिजन प्लान्ट, सिलण्डर र कोरोनाविरुद्धको खोप तत्काल आपूर्तिको लागि सम्बन्धित निकायलाई अझै तदारुकताका साथ लाग्न निर्देशन दिएको छ ।

सिंहदरबारमा आईतबार प्रधानमन्त्री केपी ओलीसहित बसेको बैठकले कोरोना संक्रमण नियन्त्रण तथा रोकथाममा नीजि क्षेत्रको समेत सहभागितामा आवश्यक व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कानूनी प्रक्रियामा अड्किएर कुनैपनि नागरिकको ज्यान जान दिन नुहने भन्दै त्यसका लागि आवश्यक निर्णय र प्रक्रिया अघि बढाउन सरोकारवाला मन्त्रीहरुलाई समेत निर्देशन दिएको परराष्टमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार कोरोनाको समग्र विश्लेषण गरिएको बैठकमा बाधा अड्चन हटाउने तथा अक्सिजन उत्पादन बढाउने, त्यसका लागि उद्योगीहरुसँग सहकार्य गर्ने, लिक्विड अक्सिजन आयात बढाउन भारतसँग आग्रह गर्ने, सिलिण्डरहरुको व्यवस्थापन गर्ने लगायतका विषयमा छलफल भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

मन्त्री ज्ञवालीले अक्सिजन अभाव हुन नदिन साथै चीन र ओमनबाट मगाइरहेको भन्दै आगामी दिनमा अक्सिजन अभाव हुन नदिने बताए ।

‘सरकार र नीजि क्षेत्रले समेत अक्सिजन ल्याएकाले त्यति ठुलो अभाव हुदैन अव त्यो कठिनाई कम हुदै जान्छ’ मन्त्री ज्ञवालीको भनाइ छ । उनका अनुसार समस्याको रुपमा रहेको अक्सिजनको उत्पादन बढाउन विद्युतको चार्ज छुट दिने निर्णय भएको छ ।

बैठकमा प्रधानमन्त्रीले आवश्यक स्वास्थ्य सामग्री आयात गर्न कानुन संशोधन गरेर वा क्विक रेस्पोन्स टिम गठन गरेर भएपनि प्रक्रिया अघि बढाउनुपर्ने बताएका थिए ।

‘हाम्रा प्रक्रियामा अल्झिएर र आर्थिक स्रोत अभावले कुनैपनि नागरिकको ज्यान जान दिनुहुँदैन । त्यसका लागि आवश्यक प्रक्रिया तत्काल गर्नुस्’, प्रधानमन्त्री ओलीको भनाई उधृत गर्दै ज्ञवालीले भने, ‘क्विक रेस्पन्स टिम बनाउनुपर्ने भए बनाउनुस् ।’

बैठकमा स्वास्थ्य संकटकालका बारेमा समेत छलफल भएको छ । तर तुलनात्मक रुपमा स्वास्थ्य संकटकाल लगाउँदा के–के काम हुन्छ भन्ने अध्ययन भइरहेको मन्त्री ज्ञवालीले जानकारी दिए ।

बैठकले समग्र स्वास्थ्य प्रणालीलाई महामारीका विरुद्ध लगाउन जरुरी भएको निश्कर्ष निकालेको छ ।