नेपालगन्ज ३ जेठ : बाँकेमा दोस्रो चरणको कोरोना भाइरस संक्रमण समुदायमै फैलिएपछि जारी निषेधाज्ञा पुनः लम्बाइएकोछ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सोमबार जारी गरिएको आदेशसंगै बाँकेमा थप एक साताका लागि निषेधाज्ञा थपिएको हो ।
पहिलोपटक वैशाख ९ गते बाँकेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रलाई आधारमानि लागु गरिएको निषेधाज्ञा बाँके जिल्लाभरी लगाइएको थियो । निषेधाज्ञाले कोरोना भाइरस संक्रमणको चेन तोडिने भन्दै पहिलो, दोस्रो, तस्रो हुदैँ पुनः चौथो पटक एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको हो ।
यो अवधिसम्म बाँकेमा कोरोना संक्रमितको संख्यामा कमि आउने आशा गरिएपनि जिल्लामा संक्रमित र संक्रमणबाट ज्यान गुमाउनेको संख्या उत्तिकै बढिरहेकोछ । हालसम्म जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउने र संक्रमित हुनेको संख्या उच्च छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेको सोमबार विहान प्राप्त तथ्यांक अनुसार कोभिड–१९ दोस्रो लहर शुरूवातसगैं वैशाख १ देखी जेठ ३ गतेसम्म भेरी अस्पतालमा ८ सय ५२ जना भर्ना भएकाछन् । जसमध्ये ४ सय ६६ जना निको भै डिस्चार्ज भएकाछन् । भने यो अवधिमा एक सय ५३ जनाको निधन भएकोछ ।
केन्द्रका अनुसार यही अवधिमा १२ जनालाई अन्यत्र रिफर गरिएकोछ । भने हाल २ सय २१ जना उपचाररत रहेकाछन् ।
यस्तै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा यही अवधिमा ४ सय ३८ जना भर्ना भए । जसमध्ये २ सय २७ जना निको भै डिस्चार्ज भइसके । भने यो अवधिमा ५१ जनाको निधन भएकोछ ।
केन्द्रका अनुसार यही अवधिमा १० जनालाई अन्यत्र रिफर गरिएको छ । भने हाल १ सय ५० जना उपचाररत रहेकाछन् ।
पछिल्लो पटक लागु गरिएको निषेधाज्ञाको समयवधि आज सोमबार राती १२ बजेदेखि सकिदै गर्दा जिल्ला प्रशासन कार्यालय बाँकेले जेठ १० गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।
यो अवधिमा अत्यावश्यक कामबाहेक हिँडडुल समेत गर्न निषेध गरिएपनि जिल्लाको विशेषगरि नेपालगन्ज उपमहानगरपालिकामा निषेधाज्ञाको प्रभावकारिता खासै देखिएको छैन ।
निषेधाज्ञा जारीले सर्वसाधरण र ज्यालादारी गरि जिविकोपार्जन गर्ने बढि प्रभावित बनिरहेकाछन् । भने जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले सर्वसाधरणको पीसिआर जाँचको दायरा फराकिलो नबनाएको सर्वसाधरणले समेत गुनासो पोख्दै आएकाछन् ।
जिल्ला प्रशासान कार्यालय बाँकेले निषेधाज्ञा उल्लङ्घन गर्नेलाई कारबाही गर्ने जनाएपनि वडा प्रहरी कार्यालय आसपास, जिल्ला प्रहरी कार्यालय आसपास सर्वसाधरण बेप्रवाहरुपमा हिडँडुल गरिरहेका हुन्छन् ।
कोरोना भाइरस संक्रमणको चेन तोड्ने भन्दै जारी निषेधाज्ञाको पूर्ण पालना तथा यसको प्रभावकारितामाथि समेत प्रश्न उठिरहेका बेला पुनः एक हप्ताका लागि निषेधाज्ञा बढाइएको हो ।