‘कोभिड हिरो’ श्रेष्ठको बाँकेमा पुनराआगमन

विरामी व्यवस्थापनसंगै कोरोनाको चेन तोड्ने पहिलो प्रथमिकता : श्रेष्ठ


‘कोभिड हिरो’ श्रेष्ठको बाँकेमा पुनराआगमन

नेपालगन्ज ३ जेठ : कोभिड हिरो अर्थात नरेशबावु श्रेष्ठ पुनः बाँकेमा फर्किएकाछन् । कोरोना संक्रमणको पहिलो लहरमा बाँकेमा कार्यरत श्रेष्ठ ९ महिनाअघि स्वास्थ्य कार्यालय बर्दियामा सरुवा भइ गएका थिए ।

बाँकेमा रहँदा कोरोना भाइरस संक्रमणको चेन तोड्नका साथै संक्रमितको उचित व्यवस्थापन, उपचारमा उत्कृष्ट कार्य गरेका श्रेष्ठको दक्षता, कुशलतालाई मध्यनजर गर्दै तीन महिनाका लागि उनलाई बाँकेमा काजमा पठाइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, लुम्बिनी प्रदेश सरकारले पछिल्लो समय बाँकेमा देखिएको कोरोना संक्रमणको अवस्था र यसको ब्यवस्थापनका लागि अनुभवि र दक्ष राष्ट्रसेवक कर्मचारीलाई पुनः बाँकेमा काजमा पठाएका हो ।

परिवार नियोजन सुपरभाइजर अधिकृत श्रेष्ठलाई स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेश सरकारको वैशाख २७ गतेको निर्णयले पदाधिकार रहेको जिल्लाबाट सेवासुविधा पाउने गरि स्वास्थ्य कार्यालय बाँकेमा पठाउने निर्णय गरेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

पहिलो चरणको कोरोना संक्रमण नियन्त्रण तथा संक्रमितको उचित व्यवस्थापन, उपचारमा अतुलनिय भूमिका खेलेका श्रेष्ठलाई सरकारले कोभिड हिरो समेत घोषित गर्दै सम्मान गरेको थियो ।

कोभिड हिरोको पुनराअगमनसंगै यतिबेला बाँकेमा देखिएको कोरोना संक्रमण नियन्त्रण र व्यवस्थापनमा थप सहजता आउने सर्वसाधरणले विश्वास गरेकाछन् ।

तीन महिनाका लागि काजमा बाँके सरुवा भएका कोभिड हिरो श्रेष्ठले सेतोखरीसंग कुरा गर्दै भने ‘म भोली (मङ्गलबार) देखि काम गर्नेगरि हाजिर भइसकेकोछु । मलाई आशा छ पहिलो चरणको संक्रमणका बेला जुन साथ र सहयोग पाएको थिए त्यो पाउनेछु ।’

पछिल्लो समय बाँकेमा नियमित संक्रमित दर बढ्दै जानु, संक्रमितको मृत्युदर बढ्दै जानुप्रति चिन्ता ब्यक्त गर्दै उनले भने–‘हाल बाँकेको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमित विरामीको ब्यवस्थापन लगायतका कार्यमा मेरो प्राथमिकता रहनेछ ।’ उनले भने–‘विरामीको उपचार र व्यवस्थापनसंगै कोरोना संक्रमितको चेन तोड्न विशेष भूमिका खेल्नेछु ।’

यसपटकको कोरोना संक्रमण पहिलोको भन्दा जटिल भएको भन्दै बाँकेबासीले उच्च सावधानीसाथ स्वास्थ्य मापदण्डको पूर्ण पालना गरे छिटै कोरोनामाथि विजय प्राप्त गर्न सक्ने उनले विश्वास ब्यक्त गरे ।