कोरोनाबाट दुल्लुमा एकै समुदायका ९ जनाको मृत्यु


कोरोनाबाट दुल्लुमा एकै समुदायका ९ जनाको मृत्यु

दैलेख ४ जेठ : दुल्लु नगरपालिका–१२ गौरीमा कोरोनाबाट एउटै समुदायका नौ जनाको मृत्यु भएको छ । वडामा कोरोना सङ्क्रमणबाट यति धेरैको मृत्यु भएको दैलेखमा पहिलो पटक हो ।

मृतक छ जनामा कोरोना परीक्षण गरिएको थियो भने अन्य तीन जना छिमेकीमा ज्वरो आउने, शरीर, छाती दुख्ने र रुघाखोकी आउने लक्षणसहित मृत्यु भएको स्वास्थ्यचौकी गौरीका संयोजक रमेश लम्सालले बताए ।

उनीहरुको परीक्षणबिनै बिरामी भएको पाँचदेखि आठ दिनमा मृत्यु भएको लम्सालले बताए । अन्य छमध्ये दुई जनाको भारतमा मृत्यु भएको थियो । बाँकी चार जनाको सुर्खेत र दैलेखमै उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य संयोजक लम्सालले बताए । यहाँ कामका लागि भारत गएका स्थानीयवासी घर फर्केसँगै १५ दिनभित्र नौ जनाको कोरोनाका कारण मृत्यु भएको हो ।

एउटै समुदायभित्र नौ जनाको मृत्यु भएपछि अहिले अवस्था असामान्य बनेको छ । दुल्लु वडा नम्बर–१२ को एउटै टोलमा एक सय भन्दा बढी बिरामी रहेको खबर पाएपछि उपचारका लागि चिकित्सकसहितको टोली लिएर परीक्षणका लागि पुगेको दुल्लु नगरपालिका प्रमुख घनश्याम भण्डारीले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

‘रातदिन नभनी स्वास्थ्यकर्मी लिएर गाउँगाउँमा गएका छौँ । अधिकांशमा ज्वरो र रुघाखोकी रहेको छ’, भण्डारी बताए । औषधिसहित पुगेको स्वास्थ्यकर्मीको टोलीले परीक्षणलाई तीव्र पारेको छ । -रासस