पाहुनाले कोरोना भित्र्याए, भोजबाट झन् फैलियो !


पाहुनाले कोरोना भित्र्याए, भोजबाट झन् फैलियो !

म्याग्दी ४ जेठ : म्याग्दीको बेनी नगरपालिका–४ मा पर्ने सिंगा र तातोपानी क्षेत्र कोरोना सङ्क्रमणको केन्द्र बनेको छ । तातोपानी कुण्ड स्नानका लागि आएका पाहुनामार्फत भित्रिएको कोरोना भोजभतेर र जमघटबाट टोल बस्ती हुँदै नागरिकका घरसम्म पुगेको छ ।

सिंगाका वडाध्यक्ष गोविन्द पौडेलका अनुसार वडाभर हालसम्म ६५ भन्दा बढी सङ्क्रमित भइसकेका छन् भने दुई जनाको ज्यान गएको छ । स्वास्थ्य कार्यालय र प्रदेशको स्वास्थ्य निर्देशनालयले सोमबार सार्वजनिक गरेको बेनी नगरपालिकाका ५१ जना सबै सङ्क्रमित वडा नम्बर ४ का हुन् ।

वैशाख २७ गते नगरपालिकाका स्वास्थ्यकर्मीहरुले लक्षण देखिएका र सङ्क्रमितको नजिकको सम्पर्कमा रहेका ६७ जनाको सिंगामा स्वाब सङ्कलन गरेका थिए । ‘तातोपानी, सिंगा, बास्कुना, थामडाँडा, डाँडाखेत र सुर्केमेलामा बढी सङ्क्रमित छन् । कतिले अझै परीक्षण गरेका छैनन् । छुटेका र सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको मङ्गलबार पुनः तातोपानीमा स्वाब सङ्कलन गर्दैछौँ,’ उनले भने ।

गत वैशाख १४ गते तातोपानीका होटल व्यवसायीहरुलाई कोरोनाको लक्षण देखिएको थियो । पौडेलका अनुसार यसअघि बेनी नगरपालिकाको वडा नम्बर ४ मा १६ सङ्क्रमित थिए ।

Kids Festival 2022
kanti aarogya hospital

जिल्ला प्रशासन कार्यालयले म्याग्दीका तातोपानी कुण्ड बन्द गराउन निर्देशन दिनुभन्द्या अघिदेखि नै तातोपानीमा भित्रिएको कोरोना फैलिने क्रममा थियो ।

तातोपानीको छिमेकी बस्ती सिंगा, सुर्केमेला, डाँडाखेत, बास्कुना र थामडाँडामा १४ गतेपछि चौरासी पूजा, विवाह, क्रिया कर्म, व्रतबन्ध जस्ता सांस्कृतिक कार्य भए र त्यहाँ भोजभतेर र जमघट भएको थियो । नागरिकहरु सचेत भइसकेका थिएनन् ।

मास्क, स्यानिटाइजरको प्रयोग र हात धुने अभ्यासप्रति ध्यान दिएनन् । प्रशासनले प्रतिबन्ध लगाए पनि सांस्कृतिक कार्यमा बाजागाजा, नाचगान र भोजभतेर चल्यो ।
तातोपानी स्नान र भ्रमणमा आएका शहरी क्षेत्रका पाहुनामार्फत भित्रिएको कोरोना समुदायस्तरमा फैलाउन सांस्कृतिक कार्यले सहयोग पुगेको ठहर जिल्लास्थित सुरक्षा निकाय, जनप्रतिनिधि, प्रशासन र सरोकारवालाले गरेका छन् ।

फैलिएको कोरोना नियन्त्रण गर्न सिंगा, तातोपानीलगायतका बस्तीका बासिन्दाहरु घरभित्रै बसेका छन् । तातोपानीको उपल्लो र तल्लो बजार सोमबार दिउँसो सुनसान थियो । पसल तथा होटल बन्द थिए । मानिसहरु झ्यालबाट बाहिर हेरिरहेका थिए ।

उनीहरु कोरोनादेखि डराएको जस्तो वातावरण थियो । लक्षण देखिएका र सम्पर्कमा रहेकाहरुको स्वाब परीक्षण, उपचारका साथै थप फैलिन नदिन सचेतनामूलक कार्यक्रम गरिएको वडाध्यक्ष पौडेलले बताए । उनले स्वास्थ्यकर्मीसहितको टोली सङ्क्रमितको घरमा पुगेर अवस्था बुझ्ने र हौसला दिन थालिएको बताए ।

यसैबीच बेनी नगरपालिकाका ५१ सहित म्याग्दीमा सोमबार ८२ नयाँ सङ्क्रमित थपिँदा ५३ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना जित्नेमा बेनीका तीन महिनाको शिशुदेखि रघुगङ्गाका ८९ वर्षका वृद्धसम्म छन् ।

स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले पिसिआर विधिबाट गरिएको परीक्षणका क्रममा रघुगङ्गामा थप ११ सङ्क्रमित भेटिएका छन् । चौध जनाको पिसिआर परीक्षण गरिएको थियो। उनीहरु सबै वडा नम्बर ४ का हुन् ।

रघुगङ्गाको वडा नम्बर– ४ मा पर्ने दग्नाममा वैशाख तेस्रो साता भूमे पूजा भएको थियो। एन्टिजेन परीक्षणबाट रघुगङ्गामा तीन, धवलागिरिमा १४, मङ्गलामा दुई र अन्नपूर्णमा एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लम्सालले बताए । धवलागिरिका सङ्क्रमित वडा नम्बर २ लुलाङ र लम्सुङका हुन् ।

हालसम्म ९६७ सङ्क्रमित रहेको म्याग्दीमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४४४ जना छ । म्याग्दीबाट पठाइएको ४१६ वटा स्वाब नमूनाको नतिजा आउन बाँकी छ ।
वैशाख २२ गते रातिदेखि शुरु भएको निषेधाज्ञा जेठ १० गतेसम्म लम्बिएको छ । परीक्षणको दायरा बढाए पनि पिसिआरको नतिजा आउन ढिलाइ हुँदा जोखिम र कोरोना नियन्त्रणमा चुनौती छ ।

पालिकास्तरमा आइसोलेशन सञ्चालन गरेका स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्यकर्मी लक्षण देखिएकाको परीक्षणका साथै होम आइसोलेशनमा बसेकालाई भेटेर हौसला बढाउने र रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण गरिरहेका छन् ।

बेनी अस्पतालमा सञ्चालित आइसोलेशनमा बिरामीको चाप बढेको छ । सोमबार केही समय अस्पताल परिसरमा सङ्क्रमितलाई राखेर उपचार गर्ने ठाउँको अभाव भएको थियो। पोखरा पठाएको सिलिण्डर भरेर आउन ढिलाइ हुँदा अक्सिजन अभाव हुने चिन्ताले चिकित्सक, स्वास्थ्यकर्मी र व्यवस्थापन समितिका पदाधिकारी चिन्तित देखिन्थे ।
बेनी अस्पतालको आइसोलेशनमा नौ पुरुष र सात महिला उपचाररत छन् । तीन जना निको भएर घर गएका छन् ।

उन्नाइस जनाको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरेको अस्पतालमा १२ को एन्टिजेन परीक्षण गर्दा नौमा सङ्क्रमण पुष्टि भएको छ । एन्टिजेन नेगेटिभ आए पनि चार जनालाई निगरानीमा राखेर उपचार गरिएको छ । -रासस