उच्च सर्तकताका साथ कार्यक्षेत्रमा खट्न युनियन अध्यक्ष ओलीको आग्रह
नेपालगन्ज २ जेठ : कोरोना भाइरस संक्रमणको दोस्रो लहर चलिरहेका बेला कुनै न कुनै सहयोग गरिरहेका मनकारी बर्दियाका तरुण नेता एबम नेपाल डिष्टिलरिज प्रालिका रिजनल म्यानेजर विवेकराज भण्डारीले नेपाल प्रेस युनियन बाँकेलाई स्वास्थ्य सामाग्री सहयोग गरेकाछन् ।
नेपाल प्रेस युनियन बाँकेलाई समाचार रिर्पोटिङ्गमा खट्ने पत्रकारका लागि आवश्यक पर्ने मास्क र सेनिटाइजर उनले सहयोग गरेका हुन् ।
युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीलाई मनकारी तरुण नेता भण्डारीले मङ्गलबार (आज) एक सय थान एन–९५ मास्क र ४० पीस सेनिटाइजर प्रदान गरेका हुन् ।
तरुण नेता भण्डारीले नेपाल पत्रकार महासंघ बाँके शाखालाई एम्बुलेन्स खरिद गर्नका लागि उनले ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका थिए ।
उनले यसअघिमात्रै जिल्ला प्रहरी कार्यालय बाँके, वडा प्रहरी कार्यालय नेपालगन्ज र नेपाल पत्रकार महासंघ बाँके शाखालाई मास्क र सेनिटाइजर प्रदान गरेका थिए ।
‘मैले ब्यक्तिगतरुपमा सक्दो सहयोग गरिरहेकोछु । यो सानो सहयोगले उहाँहरुलाई सहयोग पुगिरहेकेछ ।’ सेतोखरीसंग कुरा गर्दै नेता भण्डारीले भने–‘यस्तो महामारीमा सबैले आफूले सक्दो सहयोग गर्नुपर्छ । कोरोना महामारीकाबीच फ्रन्टलाईनमा उभिएर काम गर्ने देशका चौथो अंग पत्रकारलाई सहयोग गरेको हुँ । आगामी दिनमा पनि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्छु ।’
यसैबीच, युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले कोरोना महामारीकाबीच उच्च सर्तकताका साथ कार्यक्षेत्रमा खट्न आग्रह गरेकाछन् । उनले भने–‘पहिले आफू सुरक्षित हुने हो । अनि कर्म गर्ने हो । दोस्रो चरणमा फैलिएको कोरोना जटिल प्रकृतिको छ यसबाट सबैजना सुरक्षित रहनुपर्छ ।’
अध्यक्ष ओलीले भने–‘म युनियन बाँकेका सम्पूर्णमा हार्दिक अपील गर्छु की महामारीमा जो जहाँ हुनुहुन्छ सुरक्षित भएर समाचार रिर्पोटिङ्गमा खट्नुहोस् । सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्छ ।’
उनले भने–‘युनियन आबद्ध पत्रकारको स्वास्थ्यप्रति गम्भीर छौं । कुनैपनि समस्या परे आवश्यक समन्वय र सहकार्य गरिनेछ । यसमा ढुक्क हुनुहोस् ।’
सहयोग स्वरुप प्राप्त भएको सामाग्रीलाई रिपोर्टिङमा खटिने बाँकेका पत्रकारलाई वितरण गरिने अध्यक्ष ओलीले बताए । युनियनलाई केही दिन अघि नेपाली काङ्ग्रेस बाँकेले पनि स्वास्थ्य सामाग्री सहयोग गरेको थियोे ।
यता युनियन बाँकेका सचिव विजय मल्लले युनियन बाँकेमा आबद्ध पत्रकारका लागि आवश्यक स्वास्थ्यसम्बन्धि सामाग्री छिटै व्यवस्थापन गरि वितरण गर्ने तयारी रहेको बताए ।