नेपालले तत्काल कोभिड खोप नपाउने, दोस्रो डोज अनिश्चित


नेपालले तत्काल कोभिड खोप नपाउने, दोस्रो डोज अनिश्चित

नेपालगन्ज ५ जेठ : नेपालले भारतमा उत्पादित कोरोना विरुद्धको खोप तत्काल नपाउने भएकोछ । नेपालले भारतमा उत्पादित कोरोना खोप प्राप्त गर्न अझै कम्तिमा ८ महिना कुर्नुपर्ने देखिएको छ ।

भारतले यो वर्षको अन्त्यसम्म कोरोना खोपको निर्यातमा लगाएको प्रतिबन्ध खुला नगर्ने खबर बाहिरिएपछि सबैभन्दा ठूलो खोप उत्पादक कम्पनीमध्ये एक भारतको सिरम इन्स्टिच्यूटले खोप निर्यात नगर्ने बताएकोछ ।

सिरमले एक विज्ञप्ति जारी गरी अहिले आफ्नो प्राथमिकता भारतीय नागरिकलाई खोप लगाउनु भएको भन्दै यो वर्षको अन्त्यसम्ममा मात्र निर्यात गर्नसक्ने प्रष्ट पारेको छ ।कोभिशिल्ड खोप उत्पादन गर्दै आएको कम्पनीले एक विज्ञप्ति जारी गर्दै भारतको खोप अभियानलाई प्राथमिकतामा राखेकाले तत्काल निर्यात नगरिने बताएको हो ।

आफ्नो देशका नागरिकको जीवनलाई जोखिममा राखेर कोभिड–१९ विरुद्धको खोप निर्यात गरिएको भनी ठूलो विरोध भएपछि सेरमले विज्ञप्ति निकालेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

भारत सरकारले अहिले खोप निर्यातमा रोक लगाएको छ । कम्पनीले सन् २०२१ को अन्त्यसम्ममा मात्रै अन्य देशमा खोप निर्यात गर्न सकिने बताएको छ ।

खोप खरीदका लागि रकम बुझाइसकेका देशको विषयमा सेरमले प्रष्ट रुपमा उल्लेख गरेको छैन । योसँगै नेपालमा आउने भनिएको सेरम कम्पनीको खोप पनि रोकिने सम्भावना बढेको छ । सेरम संसारका कोभिड–१९ विरुद्धको ठूला खोप उत्पादक कम्पनीमध्ये एक हो ।

नेपालले सेरमबाट २० लाख डोज खोप खरीदका लागि रकम बुझाए पनि १० लाख डोज खोप अझै आउन सकेको छैन ।

दोस्रो डोज अनिश्चित

कोरोना भाइरसको संक्रमणबाट जोगिने एकमात्र उपाय भनेको खोप नै हो भनेर विज्ञहरुले भनिरहेको बेला नेपालको ठूलो जनसंख्या खोपबाट बन्चित छ । खोपबारे अन्योल हुँदा पहिलो डोज लगाइसकेका ज्येष्ठ नागरिकहरुले दोस्रो डोज कहिले पाउने भन्ने पनि निश्चित छैन ।

भारतले नेपाल लगायतका देशलाई तत्काल खोपको आशा नगर्नू भन्दै अनौपचारिक जानकारी गराइसकेको बताइन्छ । तर, अहिलेसम्म नेपाल सरकारले यसबारे केही बोलेको छैन ।

स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाले खोपका लागि पहल भइरहेको बताएकोछ । खोपका लागि पहल गरिरहेको र यसका लागि परराष्ट्र मन्त्रालय र राजदूतावासमार्फत् कुराकानी भइरहेको जनाएकोछ ।

यता सरकारले सिरम इन्सटिच्युटको खोप अन्य कम्पनीको भन्दा सस्तो भएकाले सकेसम्म त्यसकै खोप ल्याउन जोड गरिरहेको छ ।