‘हरित अभियान’का अभियन्ता काफ्लेलाई ‘कन्जरभेसन अवार्ड’


‘हरित अभियान’का अभियन्ता काफ्लेलाई ‘कन्जरभेसन अवार्ड’

नेपालगन्ज ५ जेठ : नेपालगन्ज उपमहानगरपालिका–१९, निवासी हेमन्तराज काफ्लेलाई विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले वातावरण संरक्षणमा उत्कृष्ट काम गरेको भन्दै बुधबार भर्चुअल प्रविधीमार्फत् नगद ५० हजारसहित उक्त अवार्ड प्रदान गरेको छ ।

वातावरण संरक्षणमा रुची राख्ने गरेका काफ्लेले कसैको जन्मदिन, बैबाहिक वर्षगाँठ, ब्रतबन्ध, विभिन्न चाडपर्व होस् वा कुनै कार्यक्रम होस् उनी निम, जामुन, सितलचिनी, कोईरालो, अगस्त, कागती लगायत प्रजातीका बिरुवा उपहार स्वरुप दिँदै आएका छन् ।

नेपालगन्ज आउने देशका विशिष्ट व्यक्ति हुन् वा अरुकोहीलाई प्रत्येक्ष भेटेर उपहार स्वरुप बिरुवा वितरण गर्दै आएका छन् । हालसम्म उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, राजा ज्ञानेन्द्र शाह, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, मन्त्री, पुर्वमन्त्री, सांसद, कलाकार, चिकित्सक, कर्मचारी, पत्रकार, राजनीतिक नेता लगायतलाई निःशुल्क विरुवा दिइसकेकाछन् ।

डब्लुडब्लुएफ नेपालले हरेक वर्ष वन्यजन्तु तथा वातावरण संरक्षणमा उत्कृष्ट कार्य गरेबापत व्यक्ति तथा संस्थालाई यस्तो अवार्ड प्रदान गर्दै आएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

वातावरण संरक्षणमा सबैको सहभागिता र सकारात्मक सोँचको विकास होस् भन्ने उद्देश्यले विगत ११ वर्षदेखि उपहारस्वरुप बिरुवा दिँदै आएको काफ्ले बताँउछन् ।
कन्जरभेसन अवार्ड प्राप्त गरिसकेपछि आफूलाई वातावरण संरक्षणको क्षेत्रमा काम गर्ने थप हौसला प्राप्त भएको उनले बताए ।

‘अवार्ड पाउँला भनेर मैले अभियान चालेको होइन, यो अवार्डले मैले चालेको ‘हरित अभियान’लाई अझ निखार ल्याउनेछ’ काफ्लेले बताए ।

शिक्षण पेशामा आबद्ध समेत रहेका काफ्लेले पछिल्लो समयमा आफ्नै नर्सरीबाट बिरुवा उत्पादन गरिरहेका छन् । हालसम्म उनले उत्पादन गरेको विरुवा अभियानमार्फत् नेपालगन्जलगायत विभिन्न जिल्लामा ६० हजार बढि बिरुवा रोपिसकेको बताए ।