नेपालकै पहिलो विद्यावारिधी उपाधी प्राप्त सांसद शाहीको कोरोनाबाट निधन


नेपालकै पहिलो विद्यावारिधी उपाधी प्राप्त सांसद शाहीको कोरोनाबाट निधन

नेपालगन्ज ७ जेठ : कोरोना संक्रमणबाट पूर्व सहायक मन्त्री डाक्टर प्रेमबहादुर शाहीको निधन भएकोछ । शाहीको बिहीबार बेलुका कोठमाडौंको नक्सालबाट शिक्षण अस्पताल लिने क्रममा साढे ६ बजे निधन भएको हो ।

लामो समयदेखि दम रोगबाट पीडित डाक्टर शाहीलाई बैशाख २९ गते त्रिभुवन शिक्षण अस्पतालमा जाँच गराउँदा कोरोना पोजेटिभ पाइएको थियो । कोरोना पोजेटिभ पाइएका शाही होम आइशोलेशनमा बसेका थिए ।

२००१ साल बैशाख ५ गते दैलेख जिल्लाको दुल्लु नगरपालिका वडा नम्बर– १० सातखम्बमा जन्मिएका डाक्टर शाहीको ७७ वर्षको उमेरमा निधन भएको हो । दैलेख जिल्लाको निर्वाचन क्षेत्र नम्बर–२ बाट २०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भई सहायक मन्त्री समेत बनेका थिए डाक्टर शाही ।

डाक्टर शाही त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी उपाधी प्राप्त गरेर सांसदमा निर्वाचित पहिलो नेपाली र दैलेख जिल्लाबाट विद्यावारिधी गर्ने पहिलो व्यक्ति समेत हुन् ।
उनले राजनीतिशास्त्र र व्यवस्थापनमा स्नातकोत्तर गर्नुका साथै २०३८ सालमा अर्थशास्त्रमा विद्यावारिधी उपाधी हाँसिल गरेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

डाक्टर शाहीले राजपरिषद्, राष्ट्रिय विकास परिषद्, त्रिवि सभा, आर्थिक तथा पर्यटन समिति, अन्तर्राष्ट्रिय युवा वर्ष राष्ट्रिय समिति नेपालको सदस्य लगायत थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ÷संगठनहरूमा रहेर काम गरेका थिए ।

नेपाल विद्याभूषण र भूकम्प उद्दार पदकबाट समेत विभूषित उनका थुप्रै एकल तथा संयुक्त पुस्तकहरू, प्राज्ञिक लेख रचनाहरू प्रकाशित छन् ।