युनियनद्वारा जोखिममा रिपोर्टिङ गर्ने बाँकेका पत्रकारलाई स्वास्थ्य सामग्री प्रदान


युनियनद्वारा जोखिममा रिपोर्टिङ गर्ने बाँकेका पत्रकारलाई स्वास्थ्य सामग्री प्रदान

नेपालगन्ज ७ जेठ : कोरोना भाइरस संक्रमणकाबीच समाचार रिर्पोटिङ्गमा सक्रिय बाँकेका ७० जना पत्रकारलाई स्वास्थ्य सामाग्री प्रदान गरिएकोछ ।

नयाँ भेरियन्टसहित दोस्रो चरणमा फैलिएको कोरोना महामारीको उच्च जोखिममा रहेका बाँकेका पत्रकारका लागि नेपाल प्रेस युनियन बाँकेले स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

युनियन बाँकेले बिहीबार र शुक्रबार गरि बाँकेका ७० जना पत्रकारलाई प्रतिब्यक्ति एन–९५ मास्क दुई थान र हेण्ड सेनिटाइजर एक थान प्रदान गरेकोछ ।

बाँकेमा क्रियाशिल पत्रकारहरुलाई लक्षित गरि युनियन बाँकेले उक्त स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीका अनुसार महामारीमा जोखिम मोलेर पत्रकारले समाचार संकलन गरिरहेकाले स्वास्थ्य सामग्री सहयोग गरेको बताए ।

‘महामारीमा जोखिम मोलेर पत्रकारले आफ्नो पेशागत दायित्व निभाईरहेका छन्, महामारीको जोखिममा रहेका सञ्चारकर्मीको स्वास्थ्यलाई मध्यनजर गर्दै सहयोग गरिएको हो ।’ अध्यक्ष ओलीले भने ‘युनियन बाँकेले स्वास्थ्य सामाग्री वितरणलाई निरन्तरता दिनेछ । पत्रकारको स्वास्थ्यप्रति हामी गम्भीर छौं, कुनैपनि समस्या भए त्यसको समाधानका लागि आवश्यक पहल गर्नेछौं ।’

ओलीले युनियनले चालेको अभियानमा सहयोग गर्ने सहयोगी मनलाई समेत धन्यबाद दिएकोछ ।

केही दिनअघि मात्र समाजसेवी एवम् युवा ब्यवसायी विवेक राजभण्डारीले युनियन बाँकेलाई एन–९५ मास्क र ४० थान ह्याण्ड सेनिटाइजर हस्तान्तरण गरेका थिए ।
यस्तै प्रेस युनियनलाई केही दिनअघि नेपाली काँग्रेस बाँकेले पनि स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।

यता युनियनले चालेको स्वास्थ्य सामाग्री वितरण कार्यमा जिल्लाका विभिन्न ब्यक्ति तथा संघ सस्थाबाट सहयोग प्राप्त भइरहेको युनियन बाँकेका सचिव विजय मल्लले जानकारी दिए ।

उनका अनुसार सहयोग स्वरुप प्राप्त भएका सबै स्वास्थ्य सामग्रीलाई कोरोना महामारीमा जोखिम मोलेर फिल्डमा खटिएर काम गरिरहेका बाँकेका पत्रकारहरुलाई पुनः वितरण गरिनेछ ।

यसअघि पनि पहिलो चरणको कोरोना भाइरस संक्रमणकाबीच नेपाल प्रेस युनियन बाँकेले बाँकेमा रहेका पत्रकारलाई स्वास्थ्य सामाग्री, खाद्यान्न लगायतको सहयोग गरिसकेकोछ ।